समाचार

लोकसेवाले दशैँसम्ममा नौ हजार १६२ कर्मचारीको विज्ञापन आव्हान गर्छः मन्त्री पण्डित

ललीतपुर । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले नेपालका विशिष्ट पदका व्यक्ति र निजामती कर्मचारीको क्षमता अभिवृद्धि गर्न काभ्रेको नवोबुद्ध नगरपालिकामा सङ्घीयता अध्ययन केन्द्र निर्माण गरिने बताएका छन् ।

आज नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको ‘३७औँ वार्षिककोत्सव तथा कर्मचारी पुनःमिलन समारोह’ मा मन्त्री पण्डितले विभिन्न तीन तहको सरकारमा रहेका राजनतीतिक दल र निजामती कर्मचारीको कामलाई चुस्त र दुरुस्त बनाउन सो अध्ययन केन्द्रले सहयोग गर्ने बताए ।

उनले भने, “यो अध्ययन केन्द्रमा विश्वकै संविधान अवलम्वन गर्ने देशका मानिसहरुले बसेर अध्ययन र अनुसन्धान गर्न पाउने छन् ।”

सरकारले स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानलाई सातै प्रदेशमा विस्तार गर्न लागेको मन्त्री पण्डितले जानकारी दिए । उनले थपे, “दुई महीनाभित्र सातै प्रदेशका भवन हस्तान्तरण गरी काम अघि बढाउने भएका छौँ ।” लोकसेवाले दशैँको अन्तिमसम्ममा स्थानीय तहका लागि नौ हजार १६२ कर्मचारीको विज्ञापन आव्हान गर्ने उनले बताए । देशलाई अझ व्यवस्थित बनाउन हरेक नेपालीलाई प्रशिक्षणको जरुरत रहेको मन्त्री पण्डितले बताउँदै भने, “त्यसपछि मात्र मुलुकअघि बढ्ने छ । ”

सो प्रतिष्ठानका कार्यकारी निर्देशक पुण्यप्रसाद न्यौपानेले निर्माण हुन लागेको सो अध्ययन केन्द्रले मुलुकको उच्च तहमा रहेका व्यक्तिलगायत कर्मचारीलाई गुणस्तरीय प्रशिक्षणका साथै परामर्श दिने बताए ।

यसैगरी उपकार्यकारी निर्देशक नारायणगोपाल मलेगोले प्रतिष्ठानको समयअनुसार स्वरुप र मुहार परिवर्तन गरी अघि बढेको जानकारी दिए ।

पूर्वकार्यकारी निर्देशक दिनेशप्रसाद पन्तले प्रतिष्ठानले नीति निर्माण र स्रोत परिचालनमा ध्यान दिए जसरी संस्थागत क्षमता बढाउन ध्यान दिनुपर्ने सुझाव दिए । सो प्रतिष्ठानले गण्डकी प्रदेशमा संरचना निर्माण, कणाली प्रदेशमा मानव स्रोत प्रतिवेदन निर्माण गर्नुका साथै अन्य प्रदेशमा लैङ्गिकमैत्री बजेट प्रस्तुत, अन्तरक्रिया, सुझाव गोष्ठी सम्पन्न गरेको कार्यक्रममा बताइएको छ । सो वार्षिककोत्सवको अवसरमा प्रतिष्ठानले तीन उत्कृष्ठ कर्मचारीलाई सम्मान गरेको थियो ।