सुदूरपश्चिम

दुर्गममा स्वास्थ्य सेवाः चार सय लाभान्वित

बैतडी । बैतडीको पञ्चेश्वर स्वास्थ्यचौकीमा गाउँघरमा चिकित्सक कार्यक्रमअन्तर्गत दुईदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयको सहयोगमा दुर्गममा चिकित्सकको सेवा प्रदान गर्ने उद्देश्यले बिहीबारदेखि सो कार्यक्रम सञ्चालन भएको थियो । शुक्रबार सम्पन्न कार्यक्रमबाट ३८७ ले सेवा लिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिएका छन् ।

गाउँघरमा चिकित्सक कार्यक्रमअन्तर्गत सञ्चालन भएको शिविरमा ८० गर्भवती महिलाको ‘अल्ट्रासाउण्ड’ गरिएको छ भने २७९ ले सामान्य स्वास्थ्य परीक्षण गराएका छन् । शिविरमा २२ ले प्रयोगशाला र २० जनाले परिवार नियोजन सेवा लिएका छन् ।

दुर्गम क्षेत्रका नागरिक चिकित्सकको सेवा पाउनबाट वञ्चित भएकाले उनीहरुलाई एकै ठाउँमा विभिन्न सेवा प्रदान गर्न गाउँघरमा चिकित्सक कार्यक्रम सञ्चालन गरिएको प्रमुख भट्टले बताए । प्रत्येक महीनाको एक दिन पालिकाका दुर्गम स्वास्थ्यचौकीमा यो कार्यक्रम सञ्चालन गरिने बताइएको छ ।

दुर्गममा डाक्टरको सेवा उपलब्ध भएपछि स्थानीय खुशी भएका पञ्चेश्वर गाउँपालिकाका उपाध्यक्ष बीना भट्टले जानकारी दिएका छन् । शिविरमा पाटन प्राथमिक स्वास्थ्य केन्द्रका डा रोसना छुँकालगायतका स्वास्थ्यकर्मीले सेवा दिएका थिए ।

बैतडीमा डेङ्गु रोगका बिरामी बढ्दै

बैतडीमा डेङ्गु रोगका बिरामी बढ्दै गएका छन् । जिल्ला अस्पताल बैतडीमा उपचारका लागि पुगेका ज्वरोका बिरामीमध्ये तीनजनामा डेङ्गु भएको पुष्टि भएको स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी भुवनप्रसाद जोशीले जानकारी दिएका छन् । जिल्ला अस्पातलमा डेङ्गु देखिएका तीनै जना बिरामी दशरथचन्द नगरपालिका–१० का रहेका छन् ।

दुईजनाको जिल्ला अस्पतालमै उपचार गरिएको र एकजनाको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि अन्यत्र सिफारिश गरिएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिएका छन् । योसँगै बैतडीका छ जनामा डेङ्गुको सङ्क्रमण देखिएको उनले बताए ।

तीनजनामा जिल्ला बाहिरका अस्पतालमा जाँच गर्दा डेङ्गु देखिएको हो । यस्तै बैतडीका २४ जनामा स्क्रबटाइफसको सङ्क्रमण देखिएको छ । दशरथचन्द नगरपालिकाले जिल्ला अस्पताल बैतडीलाई स्क्रबटाइफस परीक्षण कीट उपलब्ध गराएको छ ।

देशैभरि उक्त रोगका बिरामी फेला परेकाले रोग परीक्षणमा सहयोग पुर्याउन २५ वटा कीट उपलब्ध गराइएको नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख विनोदबहादुर चन्दले जानकारी दिएका छन् । यसअघि नगरपालिकाले जिल्ला अस्पताललाई ४५ वटा डेङ्गु परीक्षण कीट उपलब्ध गराएको थियो । नगरपालिकाले स्क्रबटाइफस र डेङ्गुबाट बच्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको छ ।