खेलकुद

नयाँ नेतृत्वको लागि आज क्यानको निर्वाचनः पाण्डे र चन्दमा कस्को प्यानलले मार्ला त बाजी ?

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानको नयाँ नेतृत्वका लागि आज शनिबार निर्वाचन हुदैछ । नेतृत्वका दुई प्रत्यासी पुर्व अध्यक्षद्वय विनयराज पाण्डे र चतुरबहादुर चन्द प्यानल सहित चुनावी प्रतिस्पर्धामा होमिएका छन् ।

पुर्व अध्यक्ष पाण्डेको प्यानलमा पदाधिकारीमा उपाध्यक्षमा मिङ्मा डाण्डु शेर्पा, सचिवमा बिनोद मैनाली र कोषाध्यक्षमा उपेन्द्र भट्टराईले उम्मेदवारी दिने टुङ्गो लागेको छ । चन्दको प्यानलमा उपाध्यक्षमा राजुबाबु श्रेष्ठ, सचिवमा अशोकनाथ प्याकुरेल र कोषाध्यक्षमा रोशनकुमार सिंहले उम्मेदवारी दिने पक्का भएको हो ।

शुक्रबार सुरु क्यानको विशेष साधारण सभाले चार पदाधिकारी सहित १७ सदस्यीय कार्यसमितिको चयन गर्नेछ । जिल्ला र प्रदेशबाट आएको ५९ प्रतिनिधिले निर्वाचनमा मतदान गर्नेछन् । करिब तीन बर्ष अघि क्यान निलम्बनमा परेपछि नेपाली क्रिकेटको विवाद समाधानका लागि आईसीसीले पहल गर्दै आएको छ ।

आईसीसीले क्यानको नयाँ विधान बनाउनेदेखि नेतृत्वका लागि निर्वाचन समेत गराउन लागेको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गरेर क्यानको विशेष साधारण सभाको उद्घाटन गरिएको थियो ।

चुनावी कार्यतालिकाः

आईसीसीको स्वतन्त्र कमिटिले तयार गरेको कार्यतालिका अनुसार उम्मेदवारी मनोनयन दर्ता बिहान ८ देखि ९ बजेसम्म रहेको छ । उम्मेदवारी दर्ता भएको सुचि बिहान ९ बजेर ३० मिनेटमा प्रकाशन गरिने कार्यतालिका रहेको छ । उम्मेदवारले नाम फिर्ता लिन बिहान ९ः३० देखि १०ः३० सम्मको समय छुट्याईएको छ ।

निर्वाचन कमिटिले मतदानका लागि दिउँसो १ देखि २ः३० बजेको समय छुट्याएको छ । नतिजा घोषणा ३ः४५ देखि ४ बजेसम्म गरिने कार्य तालिकामा उल्लेख गरिएको छ । आजै अपरान्ह ४ बजेर ५ बजेभित्र पद हस्तान्तरणको कार्यतालिका रहेको छ । क्यानको निर्वाचनसंगै लामो समयदेखिको क्रिकेट विवाद समाधान हुने अपेक्षा गरिएको छ ।

को को छन् प्रतिनिधिहरुः

प्रदेश १ संग ८ भोट रहेको छ । जिल्ला प्रतिनिधिको रुपमा अर्जुन पौडेल, लाक्पा लामा, रोशन बुढाथोकी, कैलाश विष्ट र शम्भु शर्मा छन् । प्रदेश प्रतिनिधिको रुपमा नेकपाको भातृ संगठन युवा संघका केन्द्रिय नेता मिंग्मा दण्डु शेर्पा, शिरिष उपाध्याय र मनोज कटुवाल छन् ।

प्रदेश २ संग १२ भोट रहेको छ । पुर्व कप्तान पवन अग्रवाल जिल्ला प्रतिनिधिको रुपमा आउँदा हिरा भगत, पवन गुप्ता, दाउद अन्सारी, आयुष श्रेष्ठ, सुनिल महासेठ, रोशनकुमार सिंह र माधव कर्माचार्य जिल्ल प्रतिनिधि बनेर आएका छन् । प्रदेश प्रतिनिधिको रुपमा अनिल शर्मा, आकाश पाण्डे, मुर्तुजा हवारी र सुनिलकुमार शाह छन् ।

प्रदेश ३ संग ९ भोट रहेको छ । विनयराज पाण्डेको प्रभाव रहेको प्रदेशमा दिपेन्द्र ढकाल, कैलाश प्रधान, नरेश राना, अमितबिर पाण्डे, उपेन्द्र भट्टराई छन् । प्रदेश प्रतिनिधिको रुपमा प्रफुल्ल वैद्य, किरण क्षेत्री र दर्गाराज पाठक रहेका छन् ।

प्रदेश ४ संग ६ भोट रहेको छ । क्रिकेट टिमका प्रशिक्षक जगत टमाटा प्रतिनिधि रहेको जिल्लामा सुदिप शर्मा, सन्जयकान्त सिग्देल, राजबाबु श्रेष्ठ रहेका छन् । यस्तै ऋषीराम गौतम र प्रकाश पौडेल प्रदेश प्रतिनिधि छन् ।

प्रदेश ५ र ६ संग १२ भोट छ । बिनोदकुमार मैनाली जिल्ला प्रतिनिधिको रुपमा आउँदा अशोकनाथ प्याकुरेल, प्रशान्तबिक्रम मल्ल, राजेश श्रेष्ठ, प्रदीप मजगैया, प्रकाश गैरे र कृण्णप्रसाद श्रेष्ठ र प्रकाश गैरेले जिल्लाबाट प्रतिनिधित्व गरेका छन् । प्रदेश ६ को सुर्खेत प्रतिनिधिको रुपमा पदमबहादुर खड्का रहेका छन् । प्रदेश प्रतिनिधिको रुपमा सन्जय गुरुङ, सन्जयराज सिंह, श्रीधर केसी र विनयराज भण्डारी रहेका छन् ।

प्रदेश ७ संग १२ भोट रहेको छ । चुतुरबहादुर चन्द प्रतिनिधि जिल्लाबाट बिक्रम विष्ट, जयन्ती भट्ट, बासुदेव जोशी, दिनेश सिंह, धिरेन्द्र साउद, बिरेन्द्रबहादुर चन्द र प्रबिन्द्रबहादुर धामी प्रतिनिधि रहेका छन् । प्रदेशबाट हरि रेग्मी, हरिप्रसाद उप्रेती, तेजप्रकाश भट्ट र आशिषकुमार खत्री प्रतिनिधि छन् ।