खेलकुद

त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेटमा जिम्बावेसँग नेपाल ५ विकेटले पराजित

काठमाडौं । सिंगापुरमा जारी त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको पहिलो खेलमा नेपाल टेष्ट राष्ट्र जिम्बावेसँग पराजित भएको छ । शुक्रबार भएको सिरिजको पहिलो खेलमा नेपाल जिम्बावेसँग ५ विकेटले पराजित भएको हो ।

इन्डियन एसोसियसनको मैदानमा नेपालले दिएको १ सय ३३ रनको सामान्य लक्ष्य टेष्ट राष्ट्र जिम्बावेले १८ दशमलव १ ओभरमा मात्र ५ विकेट गुमाएर पुरा गर्यो । सुरुवाती ब्याट्सम्यानलाई सस्तैमा गुमाएपनि मध्यक्रमका दुई ब्याट्सम्यानले जिम्बावेको जितको यात्रा तय गरे ।

६४ रनमा ५ विकेट गुमाएको जिम्बावेका लागि मध्यक्रमका ब्याट्सम्यानले जिम्मेवार भएर ईनिङ्स सम्हालेका थिए । रायन वर्लले अविजित ४१ तथा रिचमुण्ड मुतुम्बामीले अविजित ४० रनको ईनिङ्स खेल्दै जिम्बावेलाई जित दिलाए । नेपालका सन्दीप लामिछानेले कसिलो बलिङ गर्दै तीन विकेट लिएपनि टोलीको हार टार्न सकेनन् । उनले जिम्बावेका सूरुवाती तीन ब्याट्सम्यानलाई शुन्य रनमा पेभेलियन फर्काएका थिए ।

चार ओभर बलिङ गरेका उनले १५ रन खर्चिएर ३ विकेट झारे । नेपालका पारस खड्काले एक विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १३२ रन बनाएको थियो । नेपालका लागि उपकप्तान दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ४० रन बनाएका थिए । सोमपाल कामीले अविजित २५ रन बनाउदा विनोद भण्डारी ११ रनमा अविजित रहे । यस्तै कप्तान पारस खड्काले १८ तथा सन्दीप जोराले १७ रन बनाए । 

जिम्बावेविरुद्धको खेलमा नेपालका दुई खेलाडीले डेब्यु गरे । ईशान पाण्डे र कुशल मल्लले राष्ट्रिय टिममा डेब्यु गरेका छन् । ईशान ४ र कुशल २ रनमा आउट भए । आरिफ शेख ८ रनमा आउट भए । जिम्बावेका सिन विलियम्सले २ विकेट लिए । यस्तै नेभिले माड्जिभा, विलिङटन मासाकाड्जा, रायन ब्रुल र टेण्डाई चतराले एक एक विकेट लिए । जितसँगै जिम्बावेले पहिलो खेलमा २ अंक जोडेको छ ।

नेपाल अंकविहिन रहेको छ । सिरिज अन्तर्गत नेपालले दोस्रो खेल शनिबार सिंगापुरसँग खेल्नेछ । डबल राउण्ड रोबिनको आधारमा हुने सिरिजमा नेपालले जिम्वाबेसँग अर्को साताको मंगलबार दोस्रो खेल खेल्नेछ । यस्तै अर्को साताको बुधबार सिंगापुरसँग खेल्नेछ । डबल राउण्ड रोबिनको आधारमा हुने सिरिजको शीर्ष दुई टोलीले फाइनल खेल्नेछ ।