लुम्बिनी

दशैँ खर्च जुटाउन यसरी जाँदैछन् राउटे सरकारी कार्यालय र संघसंस्थातिर

दाङ । परापूर्वकालदेखि जङ्गली जीवन बिताउँदै आएका राउटे समुदायका अगुवाहरु दशैँ खर्च जुटाउन दाङका विभिन्न सरकारी कार्यालय, सङ्घसंस्थालगायतका स्थानमा आर्थिक रकम जुटाउँदै हिँडेका छन् ।

शुक्रबार घोराही उपमहानगरपालिकामा आर्थिक सहयोग जुटाउन आएका उनीहरुले अहिलेसम्म रु १० हजार जम्मा गरिसकेको पनि जानकारी दिए । कुराकानीको क्रममा राउटेका मुखिया नारायणबहादुर शाहीले आफूहरुलाई दशैँमा खसी काट्ने, नयाँ कपडा किन्ने र टीका लगाएर चेलीबेटीलाई दक्षिणा दिनुपर्ने हुँदा आर्थिक सहयोग जुटाउँदै हिँड्नु परेको बाध्यता सुनाए ।

“हामी सुर्खेतको कान्छी बजार भन्ने जङ्गलको डाँडामा बस्दै आएका छौँ”, उनले भने, “दशैँ खर्चको लागि गाडी चढेर दाङसम्म आयौँ । दशैँमा खर्च गर्ने पैसा नहुँदा त्यसको जोहो गर्न आया हुँ ।” शाहीले आफ्नो बस्तीमा करीब २०० राउटे रहेको पनि जानकारी गराए । “हामी दाङमा माग्न आएका छौँ । अर्को मुखियाको टोली काठमाडौँ माग्न गएको छ । जनता (राउटे)लाई पुग्ने खर्च जुटाउने हो ।”

पहिले दाङको जङ्गलमा पनि केही वर्ष बसेको बताउने राउटेका मुखिया शाहीले पैसा मात्रै नभएर खसी, कुखुरा र नयाँ कपडा दिए पनि लैजाने बताए । “हामी तीन जना मुखिया छौँ । जनता २०० छन् । हामीले जनतासँग कुरा गरेर माग्न आएका हौँ ।” सरकारले मासिकरुपमा दिँदै आएको रु दुई हजार निकै थोरै भएको उनले गुनासो गरे ।

राउटेका मुखिया नारायणबहादुर शाहीसँग १४ वर्षीय बिर्खे शाही र दलाल शाही पनि साथमा आएका थिए। उनीहरुले घोराही उपमहानगरपालिका, जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समितिलगायतका कार्यालयमा पुगेर सहयोग जुटाएका थिए । सामाजिक जीवनबाट टाढा रहेका राउटेहरु अझै पनि शिक्षा र स्वास्थ्यबाट टाढा छन् ।

सुर्खेतबाट दाङसम्म आर्थिक सहयोग माग्न आएका राउटेलाई घोराही उपमहानगरपालिका र जिल्ला प्रशासन कार्यालयले सहयोग गरेका छन् । राउटेलाई घोराही उपमहानगरपालिकाका प्रशासकीय अधिकृत ऋषिराम केसीले रु २० हजार नगद दिएका थिए  भने प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले रु सात हजार नगद र सुर्खेतसम्मको गाडी भाडाको व्यवस्था गरेका थिए ।