समाचार

दश लाख युवा परिचालन गर्ने खेलकुद मन्त्रालयले बनायो खाका

काठमाण्डौ । सरकारले घोषणा गरेको ‘युवा परिचालन वर्ष’मा १० लाख युवा परिचालन गर्ने तयारी थालेको छ । युवा तथा खेलकूद मन्त्रालयले यस आर्थिक वर्षमा युवालाई विभिन्न क्षेत्रमा परिचालन गर्न कार्यक्रमको खाका माग गरेको छ ।

खाका माग गर्न मन्त्रालयका सचिव रामप्रसाद थपलियाको संयोजकत्वमा युवा परिचालन कार्यक्रम मस्यौदा समिति गठन गरिएको छ । उक्त समितिमा युवासम्बन्धी सरोकार रहेका अरु मन्त्रालयको समेत प्रतिनिधित्व रहनेछ । मन्त्रालयका युवा परिचालन तथा परामर्श शाखाका प्रमुख कृष्णप्रसाद बस्यालले समितिले युवा परिचालन वर्ष मनाउनका लागि के–कस्ता कार्यक्रम गर्ने भनेर युवासम्बन्धी काम गर्न खाका माग गरेको बताए ।

उनले युवा परिचालन वर्ष मनाउने भने पनि कुन विषयमा कार्यक्रम गर्ने भन्ने नीति उल्लेख नगरिएकाले विषयगत मन्त्रालयसँग खाका माग गरिएको जानकारी दिए । मन्त्रालयले युवाका क्षेत्रमा के गर्न सकिने र नसकिने सम्बन्धमा खाका माग गरेको हो । “साउनदेखि नै युवा परिचालनका कार्यक्रम सञ्चालन भइरहेका छन्”, उनले भने, “तर, युवाका क्षेत्रमा विशिष्टकृत कार्यक्रम सञ्चालनका लागि युवासम्बन्धी काम गर्ने मन्त्रालयसँग प्रस्ताव माग गरिएको छ ।”

सरकारले आर्थिक वर्ष २०७६/७७ को बजेटमार्फत युवा परिचालन वर्ष घोषणा गरेको थियो । सरकारले राष्ट्रिय युवा नीति–२०७२ र युथ भिजन–२०२५ सहित १० वर्षे रणनीतिक योजनामा समेटिएका युवाका कुरालाई लक्षित गरेर परिचालन वर्ष सञ्चालन गर्ने बस्यालले बताए । नीतिको सार्थक सहभागिता, क्षमता र नेतृत्व विकासका माध्यमबाट युवालाई राष्ट्रिय विकासको मूलधारमा समाहित गर्दै समृद्ध, आधुनिक र न्यायपूर्ण नेपाल निर्माण गर्ने युवाको भूमिका र उनीहरुमा रहेको अन्तर्निहित क्षमतालाई गुणात्मक बनाउनु रहेको छ ।

यस्तै युथ भिजनले युवाको शिक्षा, रोजगारी, स्वास्थ्य र सामाजिक सुरक्षा, सहभागिता र नेतृत्व विकास तथा खेलकूद र मनोरञ्जन क्षेत्रमा विकास गर्ने लक्ष्य लिइएको छ । राष्ट्रिय युवा परिषद्ले विभिन्न १० क्षेत्रमा युवालाई परिचालन गर्नेछ । परिषद्ले कृषि उत्पादनमा युवा, पर्यटन प्रवर्धनमा युवा, सार्वजनिक शिक्षा सवलीकरणमा युवा, वातावरण संरक्षणमा युवा, अन्धविश्वास लैङ्गिक हिंसा जातीय विभेद तथा छुवाछूतविरुद्ध युवा, उद्यमशीलतामा युवा र सुशासनमा युवालाई परिचालन गर्नेछ ।

यसैगरी विपद् व्यवस्थापन तथा स्वयमसेवकीय कार्यमा युवा परिचालन, परम्परागत सीपको विकास तथा संरक्षणमा युवा र स्वस्थ्य तथा खेल सचेतनामा युवालाई परिचालन गर्नेछ । परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुङ्गेलले ती क्षेत्रमा १० लाख युवा परिचालन गरिने बताए । उनका अनुसार मङ्सिरभित्रमा कुन मन्त्रालयले के गर्ने भन्ने निक्र्योल गर्ने, पुसमा प्रदेश र माघको १५ गतेभित्र स्थानीय तहमा के कार्यक्रम गर्ने भन्ने स्पष्ट खाका प्रस्तुत गरिने छ । उनले माघदेखि असारसम्म नै सङ्घ, प्रदेश र स्थानीय तहमा युवा परिचालन गरिने जानकारी दिए ।

उपसचिवसमेत रहेका बस्यालले युवा क्षमता विकास गर्ने, युवाका समस्या, सीप तथा तालीम दिनका लागि समेत परिचालन वर्ष गरिने जानकारी दिए । “यस वर्ष हामीले कुन–कुन क्षेत्रमा युवालाई परिचालन गर्न सक्दछौँँ, त्यो कार्यक्रमअनुसार थाहा हुन्छ”, उनले भने, “यस वर्ष परिचालनको प्रारम्भिक कार्य भए पनि आउँदो वर्षदेखि परिचालन वर्षलाई निरन्तरता दिने योजना रहेको छ ।”