कर्णाली प्रदेश

सुर्खेतलाई अपराधमुक्त बनाउँछौँः प्रहरी प्रमुख पन्त

सुर्खेत । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरीक्षक डिल्लीराज पन्तले सुर्खेतलाई अपराधमुक्त जिल्ला बनाइने बताएका छन् । राजधानी वीरेन्द्रनगरमा आपराधिक गतिविधि बढेको जनगुनासो आएकाले यस जिल्लालाई अपराधमुक्त जिल्ला बनाउने तयारीमा आफू लागेको रासससँगको कुराकानीमा उनले बताए । “अपराधमुक्त समाज निर्माणका लागि प्रहरी अहोरात्र खट्ने छ नै”, प्रहरी उपरीक्षक पन्तले भने, “यसका लागि पत्रकार, कर्मचारी, राजनीतिक दल र नागरिक समाजको सहयोग पनि अपरिहार्य छ ।”

“यतिबेला नेपालीको महान् पर्व दशैँ तथा तिहार नजिकिँदै छ । त्यस अवधिका लागि शान्तिसुरक्षा योजना बनाउँदै छौँ,” उनले बताए, “चाड पर्वको समयमा बढी निगरानी राख्नुपर्ने भएकाले यहाँका गाउँ तथा नगरमा प्रत्येक टोलटोलमा हरेक दिन आठ वटा प्रहरी टोली खटाइने छ ।”

घरेलु मदिराका कारण आपराधिक घटना हुने भएकाले यसको नियन्त्रणका लागि जिल्लाका सबै प्रहरी एकाइलाई निर्देशन दिइएको जनाउँदै प्रहरी प्रमुख पन्तले भने, “सुर्खेतमा अब गुण्डागर्दी हुँदैन । यस्ता आपराधिक कार्य नियन्त्रणका लागि फरक रणनीति अपनाएका छौँ ।” नेपाल पत्रकार महासङ्घ सुर्खेत जिल्ला शाखाका अध्यक्ष गणेशकञ्चन भारतीले दशैँमा अवैधरुपमा सञ्चालन हुने जुवातास र साँघुरा सडकका कारण हुने दुर्घटना नियन्त्रणमा प्रहरी केन्द्रित हुनुपर्ने आवश्यकता औँल्याए । प्रहरी निरीक्षक कृष्ण केसीले अपराधको मुख्य जड मदिरा र लागू औषध भएकाले त्यसको नियन्त्रणलाई प्राथमिकतामा राखिएको बताए ।

चाडपर्वको समयमा राजमार्ग र यसका वरपर बढी आपराधिक गतिविधि हुनसक्ने भएकाले राजमार्ग क्षेत्रमा छुट्टै प्रहरी टोली परिचालन गरिने उनले जनाए । आत्महत्याका घटनामा कमी ल्याउन जनजागरणको अभियान सञ्चालन गरिने र त्यसका लागि सबै सरोकारवालासँग हातेमालो गरेर अघि बढ्ने प्रहरी निरीक्षक कृष्ण केसीको भनाइ थियो ।