प्रदेश 1

दशैंको मुख छोपेर म्याद सकिएको खाद्यान्न बिक्रीमा, अनुगमन जाँदा भागाभाग

सोलुखुम्बु । जिल्ला सदरमुकाम सल्लेरीमा सञ्चालित अधिकांश मासु पसल मापदण्डविपरीत सञ्चालन भएको पाइएको छ । सोलुदूधकुण्ड नगरपालिका र जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले संयुक्तरूपमा गरेको बजार अनुगमनको क्रममा अधिकांश मासु पसल मापदण्डविपरीत सञ्चालन भएको पाइएको हो । न्यूनतम मापदण्ड पूरा नगरेका मासु पसलका कारण बजार क्षेत्र सधै दुर्गन्धित हुन्छ ।

बिहीबार दिउँसो स्थानीय प्रशासनसहितको अनुगमन टोली बजारमा पुग्दा माछा मासु पसल सञ्चालकहरुको भागाभाग भएको थियो । अनुगमनमा संलग्न सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीकुमारी शाहीले १५ दिनको म्याद दिएर उनीहरुलाई मापदण्डमा आउन आग्रह गरिएको बताए । अवज्ञा गरी पुनः सञ्चालन गरेको पाइएमा त्यस्ता पसललाई सिल गर्दै सञ्चालकलाई कारवाही गर्ने पनि उनले बताए ।

फाप्लुमा बढी म्याद नाघेको सामाग्री

सल्लेरी तथा फाप्लुको अधिकांश पसलमा म्याद गुज्रेको खाद्यवस्तुमध्ये मिट मसला बढी भेटिएको छ । नगरपालिका–६ को जिरोप्वाइन्टदेखि वडा नं ५ को प्रशासन कार्यालय नजिक र वडा नं ४ फाप्लुसहित ४५ पसलमा गरिएको अनुगमनको क्रममा मिट मसलापछि बिस्कुट, थुक्पा र चिउरालगायतका खाद्यवस्तुको म्याद गुज्रेको पाइएको हो ।

अनुगमन गरिएकामध्ये पाँच पसल बिनादर्ता सञ्चालनमा रहेको पाइएको सहायक प्रमुख जिल्ला अधिकारी शाहीले जानकारी दिए । नगरपालिका उपमेयर कल्पना राईको नेतृत्वमा गरिएको अनुगमन टोलीले फाप्लु क्षेत्रको पसलबाट सबैभन्दा बढी म्याद नाघेको खाद्यवस्तु बरामद गरेको छ । टोलीले २६६ प्याकेट मिट मसला, १६४ थान बिस्कुट, ६६ थान थुक्पा, ४१ प्याकेट चिउरासहित २१ प्रकारको खाद्यवस्तु बरामद गरेको प्रहरी निरीक्षक उत्तम कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार ती खाद्यवस्तुको मुचुल्का उठाउने काम सकिएकाले आज डिस्पोज गरिनेछ ।

सोलुखुम्बु आइपुग्दा म्याद सकिएको हुन्छ

चाडबाड नजिकिएकाले मानव स्वास्थ्यलाई ध्यानमा राख्दै गाउँ–गाउँमा समेत बजार अनुगमन गरिनुपर्ने इलाका प्रहरी कार्यालय सोताङका प्रमुख प्रहरी निरीक्षक प्रदीप खड्काले बताए । हिमाली जिल्ला भएकाले अन्तिम म्याद भएका अधिकांश खाद्यवस्तु आउने गरेको व्यापारीले बताएका छन् ।

फाप्लुका एक व्यापारी पदम तामाङले केही दिन अगाडि मात्रै ल्याएको सनफ्लावर तेलको एक महीना अगाडिनै म्याद सकिएको पाइएको छ । उनलाई समेत डिलरले ढाँटेर छाडेको पाइएको अनुगमन टोलीले जनाएको छ । बरामद भएका केही मसला दुई वर्ष अगाडि नै म्याद सकिएको भए पनि बिक्रीमा राखेको पाइएको सहायक प्रजिअ शाहीले जानकारी दिए । उनले व्यापारीले समेत सामान खरीद गर्दा उत्पादन मिति र म्याद समाप्त हुने मिति हेर्नुपर्ने सुझाव दिए ।

बिहीबार गरिएको बजार अनुगमनका क्रममा प्रहरी, प्रशासन, नगरपालिका, घरेलु तथा साना उद्योग कार्यालय, पत्रकार महासङ्घ, उपभोक्त हित संरक्षण मञ्च, उद्योग वाणिज्य सङ्घलगायतको सहभागिता रहेको थियो । यो बजार अनुगमनलाई गाउँगाउँमा पु¥याइने प्रशासन कार्यालय सोलुखुम्बुले जनाएको छ । यता सल्लेरीका केही व्यापारीले समेत समय–समयमा बजार अनुगमन गर्न माग गरेका छन् । अनुगमनमा पुगेको टोलीलाई उनीहरुले प्रत्येक महीना अनुगमन गरिदिन आग्रहसमेत गरेका हुन् ।

कानूनी व्यवस्था

उपभोक्ता संरक्षण ऐन २०७५ को परिच्छेद ५ को दफा २० को उपदफा १ मा वस्तु उत्पादन गर्ने उद्योग भए उद्योग दर्ताको प्रमाणपत्र तथा व्यवासायको हकमा व्यवसाय दर्ता, इजाजतपत्र बिक्रीस्थलमा सर्वसाधारणले देख्ने गरी राख्नुपर्ने व्यवस्था उल्लेख छ । तर यहाँका अधिकांश पसलमा यो व्यवस्था लागू भएको छैन ।

सोही ऐनको परिच्छेद २ को दफा ३ को उपदफा १ ले उपभोक्तालाई गुणस्तरीय वस्तु वा सेवा प्राप्त गर्ने अधिकार प्रदान गरेको छ । सोही परिच्छेदको उपदफा २ को खण्ड (ङ) मा समेत मावन जीउ, ज्यान, स्वास्थ्य तथा सम्पत्तिमा हानी पु¥याउने वस्तु तथा सेवाको बिक्री वितरणबाट सुरक्षित हुन पाउने अधिकार ग्यारेण्टी गरेको छ । तर यहाँका अधिकांश क्षेत्रमा सञ्चालित पसलले हाल क्रियाशील रहेको ऐनको एक छेउ पनि कार्यान्वयन गरेको पाइँदैन ।

परिच्छदे ३ को दफा ११ खण्ड (घ) मा सम्बन्धित निकाय वा पदाधिकारीले माग गरेको बखत आफूसँग रहेको मौज्दात वा विवरण उपलब्ध गराउनुपर्ने व्यवस्था उल्लेख छ । तर पनि अनुगमन टोली जाँदा कुनै पनि व्यापारी वा व्यवसायीले आफूसँग भएको गोदाम वा मौज्दात वस्तु उपलब्ध गराएनन् ।