अन्तर्राष्ट्रिय

ईन्डोनेसियामा गयो भुकम्पः २० को मृत्यु, सयौं घाइते

एजेन्सी । इन्डोनेसियामा बिहीबार आएको भूकम्पमा परी कम्तीमा २० जनाको मृत्यु भएको छ । अधिकारीहरुले दिएको जानकारी अनुसार सो भूकम्पका कारण अरु दर्जनौ घाइते भएका छन् भने सयौँ विस्थापित भएका छन् ।

देशको दुर्गम क्षेत्रमा पर्ने मालुकु टापुमा गएको भूकम्पपछि आएको पहिरोमा परी एक जना पुरिएका छन् । भुकम्पबाट त्रसित भएका स्थानीय बासिन्दा दौडिएर घरबाट बाहिर निस्किएका थिए । उनीहरु लामो समयसम्म सडकमै भेला भएको प्रकोप व्यवस्थापन अधिकारीहरूले बताएका छन् ।

“कम्तीमा एक सय जना घाइते भएका छन्, दुई हजार भन्दा बढी घरबार विहिन भएका छन्,” राष्ट्रिय प्रकोप व्यवस्थापन विभागका प्रवक्ता अगुस विबोवोले भने । उहाँले पछिल्लो विवरण दिदै मृत्यु भएका २० जना मध्ये एक जना नवजात रहेको पनि जानकारी दिएका छन्।

घटनाको प्रारम्भिक विवरणमा स्थानीय अधिकारीहरूले एक जनाको मृत्यु भएको र अरु कैयौँ घाइते भएको बताएका थिए । अधिकारीहरुका अनुसार एक जनाको हृदयघात भएर मृत्यु भएको छ भने अर्की एक महिलाको मोटरसाइकलबाट खसेर मृत्यु भएको छ ।

स्थानीय समय अनुसार विहानको समयमा ६।५ म्याग्निच्युडको भूकम्प आएको थियो । झण्डै चार लाख जना सो भूकम्पबाट प्रभावित भएका बताइएको छ । प्रभावित मध्ये अधिकांश त्रसित, कपडामा रगत लागेको, दौडधुप गरेको, सामान्य चोटपटक लागेको, सहयोगको अपेक्षा गरेको लगायतका अवस्थामा रहेको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

स्थानीय समयानुसार बिहान करिब ०८।४५ बजे भूकम्प आएलगत्तै मानिस आत्तिएर घर बाहिर निस्केका थिए । स्थानीयबासीका अनुसार भूकम्पका कारण घर निकै जोडसँग थर्किएका थिए । अमेरिकी भूगर्भ विभागका अनुसार मालुकु प्रान्तको आम्बोन शहरबाट करिब ३७ किलोमिटर उत्तरतर्फ उक्त भूकम्पको केन्द्र विन्दु रहेको छ ।

मुख्य भूकम्पपछि अरु एक दर्जन परकम्प गएको र एउटा परकम्प ५।६ म्याग्नीच्यूडको पनि गएको इन्डोनेसियाली भूगर्भ विभागका प्रमुख रहमत ट्रियोनोले बताए ।