खेलकुद

नयाँ नेतृत्व चयनका लागि क्यानको साधारण सभा आज

काठमाडौं । नयाँ नेतृत्व चयनका लागि नेपाल क्रिकेट संघ क्यानको साधारण सभा आज शुक्रबार सुरु हुदैछ । दुई दिनसम्म काठमाडौंमा चल्ने साधारण सभाले क्यानको नयाँ नेतृत्व चयन गर्नेछ ।

शुक्रबार साधारण सभाको उद्घाटन शत्र र निर्वाचन सम्बन्धि कार्यविधि तय हुनेछ । शनिबार निर्वाचन प्रक्रिया सुरु हुनेछ । उद्घाटन शत्रमा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा र राखेप सदस्य सचिव रमेश सिलवाललाई अतिथीको रुपमा आमन्त्रण गरिएको छ ।

अन्तराष्ट्रिय क्रिकेट परिषद आईसीसीले क्यान निलम्बन गरेको झण्डै साढे ३ बर्षपछि क्यानको नयाँ नेतृत्वका लागि निर्वाचन हुन लागेको हो । सरकारी हस्तक्षप र अवैधानिक चुनावको कारण देखाउँदै आईसीसीले नेपाल क्रिकेट संघलाई निलम्बन गरेको थियो ।

नेपाली क्रिकेट विवाद समाधानका लागि आईसीसीले बनाएको सल्लाहाकार समितिले क्यानको विधान तयार गरेको थियो । सोही विधानमा टेकेर आईसीसीको स्वतन्त्र कमिटिले क्यानको नयाँ नेतृत्वका लागि निर्वाचन गराउन लागेको हो । साधारण सभाबाट नयाँ नेतृत्व चयन भएसगै क्यान निलम्बनको ढोका खुल्ने सबै पक्षको बुझाई छ ।

साधारण सभामा क्यानको जिल्ला र प्रदेशबाट ५९ सदस्य प्रतिनिधि काठमाडौं आएका छन् । सदस्य संख्याको बहुमतले क्यानको नयाँ नेतृत्व चयन गर्नेछ । नयाँ नेतृत्वका लागि चतुरबहादुर चन्द र विनयराज पाण्डे प्यानल सहित चुनावी प्रतिस्पर्धामा उत्रने तयारी गरेका छन् ।