प्रदेश 2

सिरहामा लागुऔषधसहित दुई युवक पक्राउ

लहान । प्रतिबन्धित लागुऔषधसहित प्रहरीले सिरहाको नवराजपुर गाउँपालिका–४ बाट दुई युवकलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय झाझपट्टीबाट खटिएको गस्ती टोलीले लागुऔषधसहित लहान नगरपालिका–१ सिंहराहीका २४ वर्षीय दयाराम चौधरी र २० वर्षीय अजय चौधरीलाई पक्राउ गरेको हो ।

पक्राउ परेका दुवैको साथबाट नाइट्रोभेट ५९२ ट्याबलेट बरामद भएको र दुवैमाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिएका छन् ।

म्याद गुज्रेको समान नष्ट

संयुक्त अनुगमन टोलीले सिरहाको लहानस्थित विभिन्न होटलबाट म्याद गुज्रेको पेयपदार्थ तथा अखाद्य पदार्थहरु नियन्त्रणमा लिई नष्ट गरेको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय राजविराजको अगुवाइ घरेलु तथा साना उद्योग कार्यालय लहान, इलाका प्रशासन कार्यालय लहान, इलाका प्रहरी कार्यालय लहान, राष्ट्रिय उपभोक्ता मञ्च सिरहा, जिल्ला उद्योग वाणिज्य सङ्घ लहानको संयुक्त अनुगमन टोलीले लहान बजारमा गरेको अनुगमनका क्रममा म्याद गुज्रेको पेयपदार्थ तथा अखाद्य पदार्थहरु नियन्त्रणमा लिई नष्ट गरेको हो ।

अनुगमनका क्रममा विभिन्न होटलहरुमा म्याद गुज्रेको कोकाकोला, फेन्टालगायतका पेयपदार्थ तथा खाद्य पदार्थ फेला परेपछि नियन्त्रणमा लिई नष्ट गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय राजविराजका प्रमुख सुरेशकुमार सिंहले जानकारी दिएका छन् ।

यस्तै मिठाइ पसलमा मिठाइ बनाउन प्रयोग गरेका रङहरु मानव स्वास्थ्यमा असर पर्ने खालको पाइएको र ढक तराजुसमेत कम तौलको पाइएकाले ती सबै सामान बरामद गरिएको प्रमुख सिंहको भनाइ छ ।

अनुगनका क्रममा कतिपय पसल दर्ता नभएको, भ्याट बिल, प्यान बिल, मूल्यसूची र सरसफाइ नभएको पाइएकाले त्यस्ता व्यवसायीलाई आफ्नो व्यवसाय दर्ता गराउन तथा आवश्यक सुधार गर्न एक साताको समय दिइएको प्रमुख सिंहले बताए ।