राजनीति

सयौंलाई काँग्रेस प्रवेश गराउदै नेता निधि भन्छन्, ‘भित्रैदेखी एक भएमात्र पार्टीको गुटबन्दी हट्छ’

धनगढी । नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधिले व्यक्तिको पछि नलागेर पार्टीको नीति, विचार र सिद्धान्तमा लाग्न नेता कार्यकर्तालाई निर्देशन दिएका छन् ।

नेपाली काङ्ग्रेसले शुरु गरेको दोस्रो चरणको जागरण अभियानको अन्तिम दिन आज यहाँ आयोजित सभामा पार्टीको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानका संयोजकसमेत रहेका उपसभापति निधिले पार्टीको नीति अनुसारको व्यवहार र आचरण देखाउन सकेमा पार्टीभित्र देखिने गुटबन्दीको अन्त्य हुने दाबी गरे ।

उनले पार्टीको जागरण अभियानलाई आफ्नो गाउँ ठाउँमा आगामी दिनमा पनि चलाउन निर्देशन दिए । जनताका अधिकारका लागि देशमा भएका हरेक राजनीतिक आन्दोलन काङ्ग्रेसको नेतृत्वमा सफल भएको उल्लेख गर्दै उनले जनअधिकार, विकास र समृद्धिका लागि पार्टी निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरे ।

संविधानको भावनाविपरीत सरकारले प्रदेश र स्थानीय तहका अधिकार सिंहदरबारमा सीमित राखेको आरोप लगाउँदै उनले भने, “सङ्घीय प्रणालीको राज्य व्यवस्था छ, तर अहिलेको सरकार यो व्यवस्थामा विश्वास गर्दैन ।”

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिष्ट पार्टीको संयुक्त पहलमा भएको प्रशिक्षणतर्फ लक्षित गर्दै निधिले संविधान सिध्याउने जनशक्ति तयार गर्न एकदलीय व्यवस्था भएको देशसँग मिलेर प्रशिक्षण गरिएको आरोप लगाए ।

कार्यक्रममा उसभापति निधिले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) परित्याग गरी काङ्ग्रेसमा प्रवेश गर्नेहरु सयौंलाई स्वागत गर्दै पार्टीको सदस्यता वितरण गरेका थिए । यसअघि स्थानीय ट्राफिक चोकबाट विभिन्न नाराका साथ शुरु भएको विरोध ¥याली पार्कमोडमा पुगेर सभामा परिणत भएको थियो ।