समाचार

म पुनःकाममा फर्किएको छुः महानिर्देशक ढकाल

काठमाण्डौ । औषधि व्यवस्था विभागको महानिर्देशक पदमा पुनः नारायण ढकालले कार्यभार सम्हालेका छन् । सर्वोच्च अदालतको अन्तरिम आदेश अनुसार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उनलाई महानिर्देशक पदको कार्यभार सम्हाल्न पत्र दिएको हो । महानिर्देशक ढकालले भने, “मैले महानिर्देशक पदको जिम्मेवारी असोज ५ गते आइतबारदेखि सम्हालेको छु । म पुनःकाममा फर्किएको छु ।”

स्वास्थ्यसेवा तर्फको कर्मचारी समायोजन अन्तर्गत मन्त्रालयले ११औँ तहमा कार्यरत उहाँलाई राष्ट्रिय औषधि प्रयोगशालाको प्रमुखमा पदस्थापना गरेको थियो ।

उहाँले मन्त्रालयको सो निर्णय कार्यान्वनयन रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो । साउन २१ गते रिटमाथि सुुनुवाइ हुँदा सो निर्णय कार्यान्वयन नगर्न नगराउन सर्वोच्चले आदेश दिएको थियो ।

मन्त्रालयले दशौं तहका पानबहादुर क्षेत्रीलाई यसअधि निमित्त महानिर्देशकको जिम्मेवारी दिएको थियो । सर्वोच्च अदालतको अन्तरिम आदेश आएको करीब दश दिनसम्म मन्त्रालयले उहाँलाई जिम्मेवारीको पत्र दिन ढिलाइ गरेको थियो ।