समाचार

पत्रकार आचारसंहिताः २०७३ पहिलो संशोधन–२०७६ जारी

काठमाडौं । पत्रकार आचारसंहिता, २०७३ पहिलो संशोधन–२०७६ सोमबादेखी जारी भएको छ । आज प्रेस काउन्सिल नेपालमा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्य र प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले संयुक्तरुपमा हस्ताक्षर गरी पत्रकार आचारसंहिता, २०७३ पहिलो संशोधन–२०७६० जारी भएको घोषणा गरेका हुन् ।

सञ्चार क्षेत्रको नयाँ परिवेशअनुरुप आचारसंहितालाई समसामयिक बनाइ समग्र मिडिया क्षेत्रलाई मर्यादित, जवाफदेही र जिम्मेवार बनाउने उद्देश्यअनुरुप सरोकारवाला सङ्घ, सङ्गठन पत्रकारसँग विभिन्न चरणको छलफल, अन्तरक्रिया र प्राप्त राय सुझावलाई समावेश गरी संशोधित आचारसंहिता जारी गरिएको हो ।

काउन्सिलका कार्यवाहक अध्यक्ष श्रेष्ठले पछिल्लो समयमा सूचना, सञ्चार प्रविधिमा भएको तीव्र विकासका कारण आचारसंहिता परिमार्जन गर्नुपरेको प्रष्ट पारेका छन् । काउन्सिलका सदस्य गोपाल बुढाथाकीले विभिन्न चरणमा छलफलपश्चात सहमतिका आधारमा पारिएको आचारसंहिता सञ्चारकर्मीलाई मर्यादित बन्न कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गरेका छन् ।

महासङ्घका महासचिव रमेश विष्टले पत्रकार महासङ्घको सहमतिमा बनेको सो आचारसंहिता कार्यान्वयनका लागि सबै पक्ष प्रतिबद्ध हुनुपर्नेमा जोड दिएका छन् । महासङ्घका सचिव एवं आचारसंहिता अनुगमन समितिका संयोजक प्रकाश थापाले सञ्चारमाध्यमको विकाससँगै आएको परिवर्तनलाई समेत समेटेर आचारसंहिता संशोधन भएको प्रष्ट पारे ।