अन्तर्राष्ट्रिय

इन्डोनेसियामा हिंसा भड्किदा एकैदिन २० को मृत्यु, दर्जनौँ घाइते

एजेन्सी । इन्डोनेसियाको तनावग्रस्त पपुवा क्षेत्रमा सोमबार भड्किएको हिंसाका कारण सोमबार कम्तीमा २० जनाको मृत्यु भएको यहाँका अधिकारीहरूले बताएका छन् ।

उक्त घटनामा दर्जनौँ व्यक्ति जलेर घाइते भएका छन् । अधिकारीका अनुसार आन्दोलनरत समूहले शहरका भवनहरूमा आगजनी गरेपछि कैयौँ व्यक्तिको भवनभित्र आगोले जलेर ज्यान गएको हो ।

“मृतकमध्ये धेरैजसो व्यक्तिको प्रदर्शनकारीले भवनमा लगाएको आगोमा परी दुःखद निधन भएको छ,” पपुवाका सैन्य प्रवक्ता एको दारियान्तोले बताए । घाइतेमध्ये केहीको शरीरको अधिकांश भाग जलेकोले उनीहरूलाई उद्धार गरी उपचारका लागि स्थानीय अस्पतालहरूमा भर्ना गरिएको छ ।

भवनहरूको आगो निभाइ सकिएपनि भवनका सबै तलामा उद्धार टोली पुगिनसकेकोले मृतकको सङ्ख्या थप बढ्नसक्ने प्रारम्भिक सूचना आफूले पाएको दारियन्तोले बताए ।