अन्तर्राष्ट्रिय

संसद निलम्बनबारे बेलायती सर्वोच्च अदालतले आज निर्णय गर्ने

एजेन्सी । बेलायतको सर्वोच्च अदालतले संसद निलम्वनसम्बन्धी मुद्दामा मङ्गलबार आज निर्णय गर्ने भएको छ । प्रधानमन्त्री बोरिस जोनसनले गरेको निलम्बनसम्वन्धी निर्णयका विरुद्धमा सर्वोच्च अदालतमा केही दिन पहिले मुद्दा दर्ता भएको थियो ।

युरोपेली संघबाट बेलायतलाई बहिर्गमन गराउने विषयलाई आफ्नो अनुकुल वातावरण बनाउन प्रधानमन्त्री जोनसनले संसद निलम्बन गर्नुभएको थियो ।

गत हप्ता अदालतमा तीन दिनसम्म भएको बहसपछि अदालतले आज निर्णय सुनाउने भएको हो । कुल ११ मध्ये सात जना न्यायाधीशहरूको इजलाशले यस बारेमा निर्णय गर्न लागेको एक जना प्रवक्ताले जानकारी दिएका छन् । बेलायतको प्रधानमन्त्रीका रूपमा गत जुलाईमा मात्रै जोनसनले पदबहाली गरेका हुन् ।

जिम्मेवारी लिएको छोटो अवधिमै उनि संकटमा परेको विश्लेषण गरिएको छ । संसद निलम्बन गर्ने निर्णयले उनलाई थप संकटमा पारेको बेलायती संचार माध्यमहरूले लेखेका छन् ।