प्रवास

एनआरएन युरोपमा तनहुँका प्रधानको उम्मेदवारी

ह्याम्बर्ग । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको युरोप उप संयोजकमा तनहुँ डुम्रेका सुरेन्द्र प्रधानले उम्मेदवारी घोषणा गरेका छन् । दुई दशकयता जर्मनीको ह्याम्बर्गलाई आधार बनाएर व्यवसायमा संलग्न प्रधानले जर्मनीमा एनआरएनएको स्थापनादेखि नै आवद्ध भएर काम गर्दै आइरहेका छन् । संस्थाको ह्याम्बर्ग शाखाको संयोजक हुँदै राष्ट्रिय समितिको प्रवक्ता तथा उपाध्यक्ष पदमा रहेर काम गरिसकेका छन् । एनआरएनएको अन्तराष्ट्रिय समन्वय परिषदमा जर्मनीका तर्फबाट सदस्य रहिसकेका उनले यसपाली युरोपको उप संयोजकको दावेदारी गर्दै उम्मेदवारी दिएका हुन् । ‘लामो समय क्षेत्रीय शाखादेखि अन्तर्राष्ट्रिय समन्वय परिषदमा रहेर काम गरिसकें,’ उनले भने,‘अब समग्र युरोपका नेपालीहरुको समस्या समाधानमा भूमिका खेल्ने रहर छ ।’

एनआरएनए जर्मनीको स्थापनाकालदेखि नै सक्रिय प्रधान संस्थालाई विभिन्न क्षेत्रमा शाखा स्थापना गर्न र गतिविधि अघि बढाउन लागिरहेको उनलाई नजिकबाट चिन्ने व्यवसायी नारायणलाल श्रेष्ठ बताउँछन् । प्रधान नेपाली आवद्ध झण्डै आधा दर्जन बढी संघ संस्थामा रहेर क्रियाशिल पनि छन् ।

हल प्रधानले आफ्नै तथा नेपाली र जर्मन नागरिकसँग मिलेर विभिन्न भागमा व्यवसाय विस्तार गरिरहेका छन् । ह्यामबर्गमा दुई रेष्टुरेण्टका मालिक उनले फ्रयांकफटमा जर्मन नागरिकसँगको सहकार्यमा होटल खोल्दैछन् । आफ्नो व्यवसायमा नेपालीलाई पनि रोजगारी प्रदान गरिरहेका उनी युरोप बुझेकाले यसपाली उम्मेदवार बनेको बताउँछन् । ‘एनआरएनएका विभिन्न भूमिकामा रहँदा युरोपका साथीहरुको समस्या, नेपालमा लगानी आदिको बारेमा बुझेको अनुभव व्यवहारमा ल्याउने सोच छ,’ उनले भने,‘साथीहरुले विश्वास गरिदिनुभएमा म योजनामा सफल हुनेछु ।’

प्रधानले युरोपभरका नेपालीलाई स्वदेशमा लगानीको वातावरणका साथै नेपाल पर्यटन वर्ष सफल पार्न पनि भूमिका खेल्ने बताउँछन् । ‘नेपालीहरुका समस्या पहिलो प्राथमिकता हुनेछ,’ उनले भने,‘सँगै देशमा लगानी र पर्यटन प्रवद्र्धनमा हामीले सकेको प्रयास गर्नेछौं ।’