पर्यटन/संस्कृति

अहिले रगत परीक्षण, भिडियो एक्सरे गर्दैछौँ – मन्त्री भट्टराई

काठमाण्डौ । सरकारले पर्यटन क्षेत्रमा पर्याप्त जनशक्ति उत्पादनका लागि ‘पर्यटन तथा पर्वतारोहण अध्ययन प्रतिस्ठान’ स्थापना गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले पर्यटन क्षेत्रमा दक्ष र गुणस्तरीय जनशक्ति विकास गर्ने उद्देश्यका साथ प्रतिष्ठान स्थापनाको प्रक्रिया अघि बढेको जानकारी दिए ।

विभिन्न सञ्चार माध्यममा पर्यटन क्षेत्र हेर्ने सञ्चारकर्मीसँग आज भएको छलफलमा मन्त्री भट्टराईले प्रतिष्ठान स्थापनाका लागि विधेयकको मस्यौदा तयार भई सरोकारवाला मन्त्रालयमा राय सुझावका लागि पठाइएको र यसलाई छिट्टै मन्त्रिपरिषद्मा पठाइने बताए । आर्थिक समृद्धिको मुख्य खम्बाको रुपमा रहेको पर्यटन क्षेत्रको विकास प्रवर्धनको दायरालाई अझ फराकिलो बनाउन पर्याप्त जनशक्ति आवश्यक पर्ने भएकाले त्यस्तो जनशक्ति विकासका लागि प्रतिष्ठानबाट सहयोग पुग्ने मन्त्री भट्टराईको विश्वास छ ।

अहिले पर्वतारोहणसम्बन्धी जनशक्ति उत्पादन गर्ने ‘नेपाल माउन्टेन एकेडेमी’ छ । यसले पर्वतारोहणसम्बन्धी अध्ययन तथा ट्रेकिङ गाइडलगायत तालीम दिँदै आएको छ । समग्र पर्यटन क्षेत्रलाई समेट्ने गरी अहिलेसम्म कुनै पनि प्रतिष्ठान छैन । त्यस्तै नागरिक उड्डयन क्षेत्रमा स्वदेशमै जनशक्ति विमान चालक (पाइलट) उत्पादन गर्न ‘फ्लाइङ स्कुल’ स्थापनाका लागि विज्ञ तथा सरोकारवालासँग राय सुझाव लिने काम भइरहेको र यसलाई पनि छिट्टै पूर्णता दिइने मन्त्री भट्टराईको भनाइ थियो ।

नेपाल छिट्टै इयूको सुरक्षा सूचीबाट हट्ने

पर्यटनमन्त्री भट्टराईले युरोपेली सङ्घ (इयू)को सुरक्षा चासोलाई मध्यनजर गर्दै नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणलाई सेवाप्रदायक र नियामक निकायको रुपमा विभाजन गर्ने प्रक्रियामा रहेको तथा तदसम्बन्धी विधेयक अन्तरमन्त्रालयमा छलफल भई मन्त्रिपरिषद्मा पठाउने तयारी भइरहेको जानकारी दिए ।

उनले इयूको चासो बमोजिमका प्रगति हालिस गरिरहेकाले नेपाल उसको सुरक्षा सूचीबाट छिट्टै हट्ने विश्वास व्यक्त गरे । पर्यटनमन्त्री भट्टराईले उपयुक्त विषयमा इयूका राजदूत, सम्बन्धित मुलुकमा रहेका नेपाली कूटनीतिक नियोगमार्फत पनि पहल भइरहेको र यसमा सकारात्मक वातावरण बनिरहेकाले छिट्टै नै इयूको सुरक्षा सूचीबाट हट्ने दाबी गरे।

निगम सुधार्न ‘सफ्ट थेरापी’

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको व्यवस्थापन सुधार र सेवा स्तरीकरणको अभियानमा प्राथमिकताका साथ लागेका मन्त्री भट्टराईले समस्याग्रस्त निगमको प्रभावकारी व्यवस्थापन र गुणस्तरका लागि सफ्ट थेरापी आवश्यक भएको र त्यसका लागि छिट्टै नै आवश्यक निर्णय लिइने जानकारी दिए ।

निगम सुधार सुझाव कार्यदलले हालै मन्त्रालयलाई बुझाएको प्रतिवेदनका आधारमा निगमको व्यवस्थापन सुधारको काम थालनी गरिने उनले उल्लेख गरे । “निगम बजाउन हामी (सरकार) निर्णायक उपचार गर्दैछौँ, अहिले रगत परीक्षण, भिडियो एक्सरे आदि गर्दैछौँ सामान्य कुरा सुधारेर सम्भव छैन । त्यसैले निगमको व्यवस्थापन र अरु सुधारका लागि सफ्ट थेरापी गरिन्छ, निगमले गुणात्मक फड्को मार्नेछ”, उनले भने । मन्त्री भट्टराईले नेपाल भ्रमण वर्ष, २०२० अभियानलाई लक्ष्य गरी पूर्वाधार विकास, गन्तव्य प्रवर्धन तथा अन्तर्राष्ट्रिय बजारीकरणका कामलाई तीव्रता दिएको बताउनुभयो ।