प्रवास

क्यानडामा नेपालीले मनाए नेपाल डेः एक पटक नेपाल भ्रमण गर्न सबैलाई निम्तो

काठमाडौं । नेपालको संविधान दिवसको अवसर पारेर क्यानडाको टोरोन्टोमा नेपालीहरुले नेपाल डे मनाएका छन् । टोरोन्टोको क्विन्स पार्कस्थित प्रान्तिय संसद भवनमा नेपाल डे मनाइएको हो ।

क्यानडाको प्रोगेसिभ कन्जरभेटिभ पार्टीको संसदिय दलको सभाहलमा आयोजित विशेष कार्यक्रममा स्थानिय सांसद तथा विभिन्न नेपाली संस्थाहरुका प्रतिनिधिहरुले नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्नमा जोड दिएका थिए ।

गैरआवासिय नेपाली संघ एनआरएनए क्यानडाको अगुवाइमा भएको कार्यक्रममा एनआरएनए क्यानडाका अध्यक्ष चिरन्जिवी घिमिरेले विश्वकै सुन्दर देश नेपाल एक पटक भ्रमण गरिदिन आग्रह गरेका थिए ।

यस्तै क्यानडाका लागि नेपाली अवैतनिक महावाणिज्य दूत डा. कुन्जर शर्मा, कन्सर्न नेपालका संयोजक डा. तुल्सी धरेल लगायतले नेपालको संविधानर नेपालको वर्तमान अवस्थाका बारेमा संक्षिप्त जानकारि गराएका थिए ।

कन्जरभेटिभ पार्टीका सांसद दिपक आनन्दले सर्वोच्च शिखर सगरमाथा रहेको नेपाल विश्वकै सुन्दर देश भएकाले पनिएक पटक भ्रमण गर्न सवैलाई आग्रह गरेका छन् । आफू नेपाली समुदायसंग धेरै घुलमिल भएकाले पनि नेपालका विषयमा आफू जानकार रहेको भन्दै उनले नेपाल भ्रमण वर्ष २०२० सफलपार्न आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

एनआरएनए क्यानडाका महासचिव पिताम्वर भट्टराईले संचालन गरेको कार्यक्रममा नेपाली राष्ट्रिय गानले सभाहल गुन्जिदा स्थानिय संचारकर्मी र क्यानडेली पाहुनाले यसको संगीतलाई ध्यानदिएर सुनेका थिए । ब्राम्टन मिसिसागा क्षेत्रका सांसद दिपक आनन्दले नै नेपाल डे मनाउनका लागि सबै किसिमको प्रवन्ध मिलाइदिएका थिए ।