खेलकुद

बर्षाले प्रभावित भलिबलको फाईनल आज हुँदै

काठमाडौं । वर्षाको कारण स्थगित हुँदै आएको पहिलो संस्करणको प्रकाश दाहाल स्मृति प्रगतिशिल युवा नेपाल कपु राष्ट्रिय खुल्ला पुरुष भलिबल प्रतियोगिताको फाइनल खेल आज शनिबार हुदैछ ।

नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा गत सोमबार हुने भनिएको त्रिभुवन आर्मी र नेपाल पुलिस क्लबबीचको फाइनल खेल दिनभर वर्षा भएपछि स्थगित भएको थियो । शनिबारह हुन लागेको खेल बिहान ८ बजे सुरु हुने आयोजकले जनाएको छ ।

सोमबार वर्षाको कारण खेल स्थगित गरिएको थियो र मंगलबारका लागि सारिएको थियो । तर, लगातार केही दिन वर्षा हुने सम्भावना देखिएपछि फाइनल खेल शनिबारसम्मको लागि सारिएको थियो । वर्षाले खेल स्थगित हुनुअघि सोमबार दुवै टोलीले एक एक सेट जितेका थिए ।

खेलमा पहिलो सेट आर्मीले २५(२३ ले जितेको छ भने दोस्रो सेट पुलिसले २५(२० ले जितेको छ । तेस्रो सेटमा आर्मी २३(१९ ले पछि रहेको छ । प्रतियोगितामा गण्डकी प्रदेश भने तेस्रो भएको छ । सोमबार भएको खेलमा विभागीय टिम एपीएफ क्लबलाई ३(२ को सेटमा पराजित गर्दै गण्डकी तेस्रो भएको हो ।

प्रगतिशील यूवा नेपालको योजनामा जारी प्रतियोगिताको विजेताले ५ लाख रुपैया हात पार्ने छन् । यस्तै दोस्रोले ३ लाख, तेस्रोले १ लाख र चौथोले ५० हजार रुपैया पाउने छन् । यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल पाउने आयोजकले जनाएको छ । त्यसबाहेक स्पाइकर, ब्लकर, डिफेन्डर, सर्भर र प्रशिक्षकलाई पनि पुरस्कृत गरिने छ ।