समाचार

राष्ट्रपति, उपराष्ट्रपती, लगाएत विशिष्ट व्यक्तिहरुद्वारा संविधान दिवशको शुभकामना

काठमाडौं । संविधान दिवशको अवसरमा राष्ट्रपती, उपराष्ट्रपती, सभामुख लगाएत विभिन्न विशिष्ट व्यक्तित्वहरुले शुभकामना दिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई आत्मसात् गर्दै प्रेस स्वतन्त्रता र समावेशीता प्रत्याभूति गरेको बताएकी छिन् ।

संविधान दिवस, २०७६ का अवसरमा राष्ट्रपति भण्डारीले शुभकामना सन्देश जारी गर्दै स्वदेश र विदेशमा रहेका सबै नेपालीमा सुख, शान्ति र समृद्धि तथा देशमा राष्ट्रिय एकता, अखण्डता, आपसी सद्भाव कायमको कामना गेकि हुन् । तीन तहका सरकार सञ्चालनमा आएसँगै संरचनाहरु संस्थागत सुदृढ हुँदै गएको उक्त शुभकामना सन्देशमा उल्लेख छ ।

संविधानमा सामाजिक न्यायमा आधारित समतामूलक समाजको परिकल्पनाअनुरुप समाजवादउन्मुख अर्थतन्त्रमा मुलुक अघि बढिरहेको सन्देशमा भनिएको छ । यस दिनले सबै नेपालीमा ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय सङ्कल्प मन, बचन र कर्मले समर्पित हुन प्रेरणा मिल्ने उनले विश्वास व्यक्त गरेका छन्  ।

राष्ट्रपति भण्डारीले संविधानको मर्म, भावना र व्यवहारमा रुपान्तरण गर्न आफ्नो तर्फबाट इमान्दार प्रयास गर्न आग्रह गर्दै लामो सङ्घर्ष र प्रतिक्षापछि प्राप्त संविधानको कार्यान्वयनमार्फत् नागरिकको हित र मुलुकको समृद्धि हुने गरी कार्य गर्न सबैमा अनुरोध गरेकि छन् ।

यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाली जनताको स्वतन्त्रता, राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डताको मजबुती र राष्ट्रिय एकतालाई अझै सुदृढ गर्न र संविधानको कार्यान्वयन र पालनमा लाग्नु सबै नेपालीको कर्तव्य भएको बताएका छन् ।

संविधान दिवस, २०७६ को अवसरमा आज शुभकामना सन्देश दिँदै उनले सार्वभौम नेपाली जनताले आफ्नो संविधान आफैँ जारी गरेको ऐतिहासिक दिनका रुपमा यस दिनलाई स्मरण गरेका छन् । उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्थालगायत नेपाली जनताले प्राप्त गरेका उपलब्धि संस्थागत भएको दिनका अवसरमा सबै नेपालीमा बधाई ज्ञापन गरेका छन् ।

जनताका जीवनमा परिवर्तन देखा पर्न थालेको भन्दै उहाँले संविधान कार्यान्वयनका बाँकी कार्य यथाशीघ्र अगाडि बढ्ने विश्वास व्यक्त गरेका छन् । संविधान र कानूनप्रति हरेक नेपाली जनता पूर्ण जानकार हुनुपर्ने र यसका लागि सरकार र सरोकारवाला पक्षले प्रभावकारी कार्य गर्नुपर्ने सन्देशमा भनिएको छ ।

यस्तै सभामुख कृष्णबहादुर महराले ‘संविधान दिवस, २०७६’को अवसरमा सम्पूर्ण नेपाली आमाबुवा, दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।

संविधान दिवस, २०७६ को अवसरमा आज शुभकामना सन्देश दिँदै उनले चार वर्ष अघि असोज ३ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी गरिएको उल्लेख गर्दै नेपालको इतिहासमा ऐतिहासिक र युगान्तकारी परिवर्तनलाई संविधानमार्फत् संस्थागत गरिएको यस दिनको अवसरमा संविधानसभाबाट संविधान प्राप्तिका लागि भएका सङ्घर्षमा शहादत प्राप्त गर्ने सहिदप्रति हार्दिक श्रद्धाञ्जलि तथा बेपत्ता योद्धाप्रति उच्च सम्मान अर्पण गर्दछु भने ।

नेपालको संविधान जारी भएयताका चार वर्षको बीचमा सङ्घीय संसद्ले विभिन्न ऐन कानूनको निर्माण गरी संविधान कार्यान्वयनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको उनले सन्देशमा उल्लेख गरेका छन् । संविधानले सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी÷समानुपातिक जस्ता महत्वपूर्ण उपलब्धि हासिल गरेको सभामुख महराले सन्देशमा उल्लेख गरेका छन् ।

“आम नागरिकको मौलिक हक, अधिकार र स्वतन्त्रताको सुनिश्चितता गरेको र संविधानको यही मर्मलाई आत्मसात गर्दै नेपाली जनताको सार्वभौमसत्ता, स्वतन्त्रता, राष्ट्रिय एकता, स्वाभिमान एवं भौगोलिक अखण्डतालाई मजबुत बनाउँदै संविधान कार्यान्वयन र यसको पूर्ण पालना गर्न हामी सबैलाई प्रेरणा प्राप्त होस्”, सभामुख महराले सन्देशमा भने ।