पर्यटन/संस्कृति

राष्ट्रको समृद्धिमा गीत सङ्गीतको महत्वपूर्ण योगदानः मन्त्री भट्टराई

काठमाण्डौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले गीत सङ्गीतले राष्ट्रको समृद्धिमा महत्वपूर्ण योगदान दिँदै आएको बताएका छन् । सांस्कृतिक संस्थानको सहकार्यमा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा आज साँझ राष्ट्रिय नाचघरमा आयोजित ‘सारङ्गीमा देश’ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले नेपाली समाजलाई सङ्गीतको माध्यमबाट राष्ट्रलाई योगदान गर्ने गन्धर्व जातिको योगदान अविस्मरणीय रहेकोसमेत उल्लेख गरे ।

मन्त्री भट्टराईले भने, “नेपालको एकतासँगै आगामी यात्राको अठोट र नेपाली जनताको भावनात्मक सम्बन्धलाई सारङ्गीको धुनले माथि उठाउन सहयोग गर्ने मेरो विश्वास छ ।” जसरी संविधान अनुपम र नवीन छ त्यसरी नै नेपालको गीत, सङ्गीत, साहित्य र जातजातिको क्षेत्र पनि विशिष्ट रहेको भन्दै उनले देशभरमा विगतदेखि आजसम्म विभिन्न जाति र जनजातिले जन्मदेखि मृत्युसम्म बजाइने बाजाको गौरवपूर्ण इतिहास रहेको उल्लेख गए ।

उनले सरकारले सात हजारभन्दा बढी बाजा सङ्कलन गरिसकेकाले यसलाई छिट्टै राष्ट्रिय सङ्ग्रहालयमा राख्ने योजना रहेको जानकारी दिए । बाँकी बाजा खेज्ने अभियानमा सरकार रहेको उनको भनाइ थियो । संविधान दिवसका अवसरमा सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गर्दै मन्त्री भट्टराईले संविधान निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने संविधानसभालगायत साथ र सहयोग गर्ने सबैलाई धन्यवादसमेत दिए । सो क्रममा २० जना सारङ्गीवादकले विभिन्न भाकामा सारङ्गी रेटेर दर्शकलाई मनोरञ्जन दिनुभएको थियो ।