समाचार

‘गोरखापत्र देशकै मुखपत्र’, अब छिट्टै इटहरीबाट टिभी प्रशारण हुन्छः सञ्चारमन्त्री

बिराटनगर । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले लोकतन्त्र र प्रेसको सम्बन्ध अनन्त रहेको बताएका छन् । ‘गोरखापत्र’ पूर्वक्षेत्र विराटनगर प्रकाशन शुभारम्भ र भवन उद्घाटन गर्दै उनले लोकतन्त्र भएको देशमा मात्रै प्रेस बाँच्न सक्ने बताए ।
‘गोरखापत्र’ सरकारको मुखपत्र नभएर राष्ट्र र जनताको मुखपत्र भएको उल्लेख गर्दै मन्त्री बाँस्कोटाले जनताले स्थापित गरेको लोकतन्त्र ‘गोरखापत्र’ले बचाउनुपर्नेमा जोड दिए ।

उहाँले गोरखापत्र संस्थानका प्रकाशनहरु गुणस्तरीय र अहिलेको बजारमा प्रतिस्पर्धा गर्न सकिने तथा पाठक वर्गले रुचाउने किसिमको बनाउन आग्रह गरे । मन्त्री बाँस्कोटाले निकट भविष्यमा सुनसरीको इटहरीबाट नेपाल टेलिभिजनको क्षेत्रीय प्रसारण हुने जानकारी पनि दिए ।

सो अवसरमा प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले नेपालको ज्येष्ठ राष्ट्रिय दैनिक गोरखापत्रको नयाँ अध्याय शुरु भएकामा खुशी व्यक्त गर्दै बदलिँदो परिवेशमा गोरखापत्रले पनि आफूलाई बदल्नुपर्ने सुझाव दिए । उनले मुलुकका सबै सरकारी सञ्चारमाध्यम बलियो भएमा लोकतन्त्र पनि बलियो हुने बताए ।

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले ११९ वर्ष पार गरिसकेको गोरखापत्र नयाँ ढङ्गले सत्य, तथ्यमा आधारित भएर आवाजविहीनका आवाज बन्नुपर्नेमा जोड दिए ।

गोरखापत्र संस्थानका अध्यक्ष कृष्णमुरारी भण्डारीले सत्यतथ्य र विचारमा आधारित समाचारले हिंसा रोक्ने प्रसङ्ग उल्लेख गर्दै सञ्चार राज्यको स्नायु प्रणाली र दिमाग हो भने । उनले आउने फागुन ७ गते कोहलपुरबाट पनि गोरखपत्र प्रकाशन हुने जानकारी दिए ।

गोरखापत्रको विराटनगर संस्करण प्रदेश नंं २ ३ मा वितरण हुने छ । पत्रिकामा हाल ३८ जातजातिका भाषाका सामग्री प्रकाशन हुने गरेका छन् । संस्थानबाट ‘द राइजिङ नेपाल’ दैनिक, ‘मधुपर्क’ मासिक, साहित्यिक, ‘मुना’ बाल मासिक र ‘युवामञ्च’ मासिक पत्रिका प्रकाशन हुने गरेका छन् ।