लुम्बिनी

अविरल वर्षाका कारण सयौं घर डुबानमा, गाउँपालिका जलमग्न

राँझा । बुधबार दिनभरको अविरल वर्षाले बाँकेको खजुरा गाउँपालिका जलमग्न भएको छ । अविरल वर्षाले स्थानीय जेठी नालामा पानीको सतह बढेपछि खजुरा गाउँपालिका–६ र ७ का सयौं घर डुबानमा परेको बाँकेका प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिए ।

उनका अनुसार, बाढीले खजुरा क्षेत्रका मात्र १७२  घर डुबानमा परेका छन् । यो सङ्ख्या अझै बढ्नसक्ने देखिन्छ । खजुरा गाउँपालिका–६ र ७ मा पर्ने उढ्रापुर र सोनपुरका बासिन्दा डुबानबाट बढी मात्रामा प्रभावित भएका छन् ।

उक्त क्षेत्रका डुबान पीडित स्थानीय सामुदायिक विद्यालयको भवनमा आश्रय लिएका छन् । आधारभूत विद्यालय सिन्दुरीमा एक सयजति र जनसेवा माध्यामिक विद्यालयमा ८÷१० जना विस्थापित परिवारले आश्रय लिएको नेपाल रेडक्रस सोसाइटी बाँकेका अधिकृत झवि शर्माले जानकारी दिए ।

शर्माका अनुसार, वर्षा नरोकिएको हुँदा विस्थापित परिवार सुरक्षित स्थानतर्फ जान सकेका छैनन्, विस्थापित हुनेको सङ्ख्या अझै बढ्नसक्छ । वर्षाका कारण बुधबार दिनभर त्यस क्षेत्रको यातायातसमेत प्रभावित भयो । डुबानपीडितको उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र रेडक्रसकर्मी दिनभर खटिएका थिए ।

बाँकेका प्रहरी उपरीक्षक वलीले अबिरल वर्षाले खजुरा क्षेत्रमा सबैभन्दा बढी डुवान गरेको हुँदा त्यस क्षेत्रमा उद्धार कार्यका लागि प्रहरीसहितको सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिए ।

खजुरा गाउँपालिकाका कार्यवाहक अध्यक्ष एकमाया विकले डुबान पीडितको उद्धार तथा राहतमा जनप्रतिनिधि र कर्मचारी खटिएको बताए । बिहीबारसम्म पीडितको एकिन विवरण सङ्कलन हुने उनले जानकारी दिए ।

खजुरा गाउँपालिका–३ मा पर्ने पेडारी नालामा बाढी आउँदा सवारी आवागमनमा समस्या भएको छ । पेडारी नालामा रहेको पुलभन्दा माथिबाट पानी बगेका कारण नेपालगञ्ज–गुलरिया हुलाकी सडकमा सवारी आवागमनमा कठिनाई भएको छ ।

बुधबारको वर्षातले बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाको, न्यूरोड, घरवारीटोल, गणेशपुर क्षेत्र डुबानमा छ । यसैगरी जानकी गाउँपालिकाको साइगाउँ, बेलभारलगायतका क्षेत्र समेत डुबानमा परेको गाउँपालिकाका अध्यक्ष रामनिवास यादवले बताए ।