अन्तर्राष्ट्रिय

विद्यालयमा भएको आगलागीमा परी लाइबेरियामा २८ को मृत्यु

एजेन्सी । लाइबेरियाको राजधानी मोनरोबिया नजिकै भएको आगलागीमा परी कम्तीमा २८ जनाको मृत्यु भएको छ । विद्यालयमा भएको सो घटनामा परी मृत्यु भएका मध्ये २६ जना बालबालिका रहेको अधिकारीहरूले बुधबार जनाएका छन् ।

आपत्कालीन सेवाका कर्मचारीहरूले दिएको जानकारीअनुसार मङ्गलबार राति घटना भएको हो । आगलागी भएको ठाउँमा ३० विद्यार्थी रहेका थिए ।  उनीहरू निदाएको बेला आगलागी भएको अधिकारीहरूले बताएका छन् ।

लाइबेरियाका राष्ट्रपति जर्ज वेहले बुधबार सामाजिक सञ्जाल ट्वीटर मार्फत घटनाको पुष्टि गर्दै घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ ।

“यो घटनाले पीडितका परिवारसँगै सबै देशवासीलाई दुःखी बनाएको छ, उनीहरूप्रति गहिरो समवेदना व्यक्त गर्दछौँ,” उनले लेखेका छन् ।