समाचार

बाटो बिराएर लागूऔषधमा लागेकालाई पुनःस्थापना गर्नु पवित्र कार्यः आईजिपी खनाल

काठमाण्डौ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले लागुऔषध नियन्त्रणमा नेपाल प्रहरी गम्भीर रहेको बताएका छन् । नेपाल प्रहरी श्रीमती सङ्घद्वारा सञ्चालित आसरा सुधार केन्द्रको ‘२३औँ वार्षिकोत्सव समारोह’का अवसरमा आज यहाँ आयोजित कार्यक्रममा महानिरीक्षक खनालले लागुऔषध नियन्त्रणलाई नेपाल प्रहरी र सरकारले विशेष चासो दिएको बताए ।

“लागुऔषध प्रयोगकर्ताको उपचारका लागि नेपाल प्रहरीले सातै प्रदेशमा पुनस्थापना केन्द्र स्थापना गर्न लागेको छ”, उनले भने । उनले कठिन परिस्थिति गुजारेर अघि बढेका केन्द्रमा उपचाररत् सदस्यले सकारात्मक सोच लिएर अघि बढेमा अब्बल नागरिक बनेर देशलाई योगदान पु¥याउन सक्ने बताए ।

महानिरीक्षक खनालले बाटो बिराएर लागुऔषध दुव्यर्सनमा फसेका व्यक्तिलाई समाजमा पुनस्थापना गर्ने पवित्र कार्य गर्न केन्द्र तथा यसमा सहयोग गर्ने नागरिक समाजको योगदान विशिष्ट भएकाले लागुऔषध दुव्यर्सन हुने अन्य स्थानमा समेत केन्द्र स्थापना गर्न लागेको उल्लेख गरे। नेपाल प्रहरी श्रीमती सङ्घले निःस्वार्थ रुपमा समाजसेवाको क्षेत्रमा काम गरेकाले सबै भएर सहयोग गर्नुपर्ने बताए ।

नेपाल प्रहरीका पूर्वप्रहरी वरिष्ठ उपरीक्षक वसन्तराज कुँवरले लागुऔषध सेवनले व्यक्तिका साथसाथै समाज, राष्ट्र र अन्तर्राष्ट्रिय क्षेत्रमा असर पर्ने भएकाले यसको अन्त्य गर्नुपर्ने उल्लेख गरे । मानवसेवाभन्दा ठूलो सेवा अरू केही सेवा नहुने भएकाले मानवसेवाको क्षेत्रमा तन, मन र कर्मले लाग्नुपर्ने उनको भनाइ थियो ।

काठमाडौँ महानगरपालिका–३ का अध्यक्ष दीपक केसीले समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत लागुऔषध नियन्त्रणमा स्थानीय तहले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे । केन्द्रका अध्यक्ष एवम् नेपाल प्रहरी श्रीमती सङ्घ अध्यक्ष प्रमिला खनालले समाजमा दिनानुदिन लागुऔषध प्रयोगकर्ता बढ्दै गएको भन्दै यसलाई रोक्न राज्यका सबै नागरिकको भूमिका अपरिहार्य रहेको बताए ।

विसं २०५४ मा स्थापना भएको सुधार केन्द्रले लागुऔषध प्रयोकर्ताको उपचार साथै परामर्श दिँदै आएको सङ्घकी सचिव बबिता पालले जानकारी दिए । कार्यक्रममा केन्द्रको विकासमा सहयोग पु¥याउने व्यक्ति तथा संस्थालाई पुरस्कार तथा सम्मान गरिएको थियो । सोही अवसरमा सांस्कृतिक कार्यक्रमसमेत सञ्चालन गरिएको थियो ।