पु.समाचार

चार वर्ष हुँदासम्म ठेकेदारले कालोपत्रे गरेन

काठमाण्डौ । सङ्घीय सरकारले कालोपत्रसहित सडक स्तरोन्नतिका लागि चार वर्षअघि नै बोलपत्र आह्वान गरे पनि काम हुन सकेको छैन । गोकर्ण–माइतीनेपाल–भीमदेव–पाखाथोक सडक कालोपत्रका लागि विसं २०७२ मै डिभिजन सडक कार्यालय मीनभवनले ठेक्का लगाएको थियो ।

तीन पटक म्याद थपे पनि बजेट नभएको भन्दै काम हुन सकेको छैन । सडक स्तरोन्नति नहुँदा धान रोप्ने खेतको गराजस्तो भएपछि गोकर्णेश्वर नगरपालिकाले रु १८ लाख खर्च गरेर खाल्डाखुल्डी पुर्न थालेको छ ।

स्थानीयवासी श्रीकृष्ण ज्योति सडकमा सवारी चलाउन त परैको कुरा पैदल हिँड्नसम्म नसकिने भएपछि नगरपालिकालाई अनुरोध गरेर चाडबाडअघि मर्मतसम्भारको काम गर्न लगाएको बताउछन् । दुई निकायले एउटै सडकमा बजेट खर्च गर्दा कामभन्दा बजेट सक्ने खेल हुनसक्छ ।

डिभिजन कार्यालयले करीब पाँच किमीको यो सडकमा रु १० करोडमा ठेक्का लगाएको थियो । ठेक्का लगाए पनि बिग्रिएको सडक नहेरेको भन्दै स्थानीयवासी विरोधमा उत्रिएका थिए । गत हप्ता नगर प्रमुख सन्तोष चालिसेको लिखित अनुरोधमा सडक मिलाउन पुगेको ग्रेडर काम नगरी फर्किएको स्थानीयवासीले सुनाए ।

निर्माणको जिम्मा पाएको सिएम विशाला निर्माण कम्पनीका प्रबन्ध निर्देशक विष्णुभाइ श्रेष्ठ आफूले रु दुई करोड ९४ लाखको काम सम्पन्न गरे पनि रु ९४ लाख भुक्तानी नै नदिएपछि त्यसअघिको काम गर्न नसक्दा सडक अलपत्र बनेको बताउछन् । “डिभिजन कार्यालयमा पटकपटक बजेट माग गर्दा छैन भनेर दिँदैनन्, यस्ता योजना प्रदेशअन्तर्गत गइसक्यो भन्छन्, फाइल भने प्रदेश कार्यालयमा पठाउँदैनन्, म स्थानीयवासी पनि भएकाले काम गरेन भनी गाउँलेले पनि गाली गर्छन्, गुनासो कहाँ राख्ने रु उस्तै परे कालोसूचीमा राखिदिन्छन्”, उनले भने ।

यस सम्बन्धमा डिभिजन कार्यालय प्रमुख कैलाश श्रेष्ठले यसबारेमा आफूलाई थाहा नभएको सुनाए । ठेक्का लगाउने निकायले अलपत्र छोडेपछि सडकको दूरावस्थाका बारेमा गुनासो लिएर स्थानीयवासी आएकाले मर्मत गर्न बजेट विनियोजन गरेको नगर प्रमुख चालिसेले बताए । पटकपटक ठेक्का लगाएको सडक मर्मतसम्भार गरभन्दा पनि डिभिजन कार्यालयले स्थानीय सरकारलाई नटेरेको उनले बताए।