पु.समाचार

राजनीतिक र आर्थिक भेदभावले कुनै प्रतिभाले उपेक्षित हुनुपर्दैनः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक भेदभाव वा आर्थिक कारणबाट देशकाकुनै पनि प्रतिभाले उपेक्षित हुनु नपर्ने बताएका छन् ।

राष्ट्रिय विज्ञान दिवस २०७६ को अवसरमा एक सन्देश जारीगर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । प्रधानमन्त्री ओलीले सन्देशमा समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने ध्येयका साथ वर्तमान सरकारले ज्ञान र वैज्ञानिक सोचमा आधारित समाज निर्माण गर्ने विश्व व्यापी मान्यतालाई अंगीकार गरेको उल्लेख गरेका छन् । “विज्ञान, प्रविधि र नवप्रवर्तन, आर्थिक–सामाजिक रुपान्तरणको नारा सहित मनाइँदै गरेको यस वर्षको विज्ञान दिवसले देशको आर्थिक–सामाजिक रुपान्तरणमा विज्ञानको महत्वलाई अझ बढी उजागर गर्नेछ भन्ने मेरो विश्वास छ” प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन् “नेपालको संविधानले वैज्ञानिक अध्ययन–अनुसन्धान तथा प्राविधिक उन्नयनलाई विकास सम्वन्धी नीतिमा समाहितगर्ने भावना अघि सारेको छ । सोहीअनुरुप सरकारले विज्ञान र प्रविधिको क्षेत्रमा लगानी अभिवृद्धि गर्दै वैज्ञानिक, प्राविधिक, वौद्धिक र विशिष्ट प्रतिभाहरुको संरक्षण गर्ने विषयलाई प्राथमिकतामा राखेकोे छ ।”

प्रधानमन्त्री ओलीले विश्वव्यापी रूपमै अर्थतन्त्रको धार ज्ञान निर्देशित हुँदै गएको परिप्रेक्षमा समृद्ध राष्ट्र निर्माणका लागि नवीनतम ज्ञान र प्रविधिको प्रयोग अत्यावश्यक हुने बताएका छन् । सन्देशमा प्रधानमन्त्री ओलीले नेपालको शैक्षिक र वैज्ञानिक परम्परा शताब्दीऔं पुरानो भएको उल्लेख छ । वैज्ञानिक ढंगले विश्वकै अध्ययनगर्ने हाम्रा पूर्वजप्रति हामीले गर्व गर्नुपर्ने प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ । प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन् “बाँकी दुनियाँ अन्धकारमा रहेका बेला यही भूभागमा अनेकन आविष्कार भएका थिए । हामीले आफ्नो गौरवमय परम्पराको स्मरण गर्दै फेरि यहाँ विज्ञान र प्रविधिलाई मानव जीवनको सुख र खुसीयालीसँग जोड्नु पर्दछ ।”

प्रधानमन्त्री ओलीले राष्ट्रिय विकासको दीर्घकालीन सोच बमोजिम वि.सं. २१०० सम्म समुन्नत राष्ट्रको स्तरमापुग्ने गरी विकासको गतिलाई बढाउन वर्तमान सरकार दृढ–सङ्कल्पित रहेको उल्लेख गरेका छन् । “यो लक्ष्य हासिलगर्न सरकारले विज्ञान तथा प्रविधिको अपरिहार्य भूमिकालाई उच्च महत्वप्रदान गरेको छ” प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन् “विज्ञान र प्रविधिको क्षेत्रमा दीगो र निरन्तर लगानी सुनिश्चितगर्दै प्रविधि र नबप्रबर्धनात्मक सोचलाइ देशको आर्थिक–सामाजिक रूपान्तरणको आधार बनाउनपनि यो सरकार दृढ रहेको छ । ”

प्रधानमन्त्री ओलीले विज्ञान शिक्षालाई चेतनाको मेरुदण्ड भनेका छन् । “यसकै आधारमा गुणस्तरीय प्राविधिक शिक्षामार्फत उत्पादनशील जनशक्तिको विकास गर्दै नवप्रवर्तनलाई उद्यमशीलतासँग जोड्नु पर्दछ” प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन् “विज्ञान–प्रविधिको विकासबाट आर्थिक समृद्धि हासिलगर्न यस दिवसले हामीलाई थप प्रेरणा दिने विश्वास लिएको छु ।”