पु.समाचार

चाडपर्वमा कालोबजारी बढ्ने देखेपछि बजार अनुगमनमा तीव्रता

नेपालगञ्ज । चाडपर्व नजिक हुने क्रमसँगै सम्बद्ध सरकारी निकायले नेपालगञ्जमा बजार अनुगमनमा तीव्रता दिएका छन् । सोही क्रममा बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णकान्त उपाध्याय नेतृत्वको संयुक्त बजार अनुगमन टोलीले नेपालगञ्जदेखि बजार अनुगमनमा तीव्रता दिएको हो ।

टोलीले आज नेपालगञ्जको खाद्य उद्योगको अनुगमन गरेको छ । अनुगमनका क्रममा सुर्खेत रोडमा रहेको कृष्ण स्विट एण्ड बेकरी उद्योगबाट म्याद नाघेका पेय पदार्थहरु नष्ट गरिएको सहायक प्रजिअ उपाध्यायले बताए । उक्त उद्योगलाई म्याद नाघेका खाद्य पदार्थ नराख्न र खरीद बिलसहित सम्बन्धित कार्यालयमा उपस्थिति हुन निर्देशन दिइएको छ ।

यस्तै विनायक फुड इन्डष्ट्रिज र कस्तुरी फुड प्रोडक्ट्समा पनि अनुगमन गर्दा ब्याच नम्बर र उत्पादन मिति प्रष्ट बुझिने गरी नराखिएकाले अब उप्रान्त त्यसो नगर्न चेतावनी दिइएको छ ।

संयुक्त बजार अनुगमनमा जिल्ला प्रशासन, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण, नापतौल, खाद्य प्रविधि तथा गुण नियन्त्रण, घरेलु तथा साना उद्योगलगायत कार्यालयका प्रतिनिधिहरुको सहभागिता थियो ।