प्रदेश 1

ओलीको गृहजिल्लामा दशैंमा एक हजार प्रहरी परिचालन

भद्रपुर । नजिकै आइरहेको बडादशैँ, दीपावली तथा छठलगायतका पर्वहरुमा सुरक्षा व्यवस्था बलियो बनाउने उद्देश्यले जिल्ला प्रहरी कार्यालय झापाले एक हजार २३५ प्रहरी परिचालन गरेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाले आज पत्रकार सम्मेलन गरी भयरहित वातावरणमा आम नागरिकले चाडपर्वलाई मनाउन पाउन् भन्ने उद्देश्यका साथ एक हजार २३५ प्रहरी परिचालन गरिएको प्रहरी उपरीक्षक दिनेश मैनालीले जानकारी दिए ।

उपरीक्षक मैनालीले सुरक्षा योजनाअन्तर्र्गत सवारी दुर्घटनामा न्यूनीकरण गर्ने, धार्मिक मेला लाग्ने मठमन्दिर र देवालयमा सम्भावित घटनाहरु रोकथाम गर्ने, महत्वपूर्ण प्रतिष्ठानको सुरक्षा गर्ने, मादक पदार्थ र जुवातास नियन्त्रण गरिने बताए ।

उनले जिल्लामा ४० चेक प्वाइन्ट राखिएको, पूर्वपश्चिम राजमार्गमा सात स्थानमा गस्ती टोली खडा गरिएको, सात वटा ‘रिजर्भ’ टोलीलगायत खटाएर सुरक्षा व्यवस्थालाई बलियो पारिएको बताए ।

प्रहरीले गाडी र मोटरसाइकलमार्फत २४ घण्टा गस्ती गर्ने, बैङ्क तथा वित्तीय संस्था, ठूला व्यापारिक केन्द्र, प्रतिष्ठानलगायतका कार्यालयमा सुरक्षा व्यवस्थालाई कडा बनाउँदै बसपार्कहरुमा यात्रु सहायता कक्ष सञ्चालन कार्यसमेत शुरु गरिएको उनले बताए ।

गुण्डागर्दी, चोरी र लुटपाटका सम्भावित घटना रोक्न सवारी साधनमा पनि सादा पोशाकमा हतियारसहितका प्रहरी परिचालन गरिएको उपरीक्षक मैनालीले जानकारी दिए । झापा जिल्लाको प्रहरीलाई नमूना प्रहरी बनाउने उद्देश्यले सुरक्षा व्यवस्थालाई बलियो बनाउन समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गतका समितिहरुलाई सुरक्षासम्बन्धी जनचेतनामूलक कार्यक्रमसमेत गरिएको उनले बताए । झापा प्रधानमन्त्ती केपी शर्मँ ओलीको गृहजिल्ला हो ।