समाचार

परराष्ट्रमन्त्री ज्ञावालीको दाबीः नेपालमा लगानी गर्नुस्, पर्याप्त मुनाफा हुन्छ

काठमाण्डौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालमा अहिले वैदेशिक लगानीका लागि उपयुक्त वातावरण रहेको बताएका छन् ।

पूर्व सांसद मञ्चद्वारा आज यहाँ आयोजित ‘विश्व अवस्था र भविष्यको नेपाल’ विषयक कार्यशालामा उनले लगानीमैत्री कानून, उपयुक्त भू–बनावट र सहजरूपमा श्रमिक उपलब्धताले नेपालमा लगानी गर्न सुवर्ण अवसर प्रदान गरेको उल्लेख गरे ।

परराष्ट्रमन्त्री ज्ञवालीले भने, “विश्वको दोस्रो र छैटौँ ठूलो अर्थतन्त्र भएका चीन र भारत छिमेकमा रहेको हुँदा लगानीकर्ताका लागि बजारको कुनै समस्या छैन, नेपालमा लगानी गरेर पर्याप्त मुनाफा आर्जन गर्नसक्ने वातावरणसमेत सिर्जना भएको छ, शान्ति र समृद्ध नेपाल छिमेकी देशका लागि पनि हितमा छ ।”

लगानी बोर्डका कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले नेपालमा वैदेशिक लगानीका क्षेत्र र लगानीको अवस्थाबारेमा जानकारी दिए ।

नेपालका लागि जापानका राजदूत मासामिची साइगोले नेपाल–जापानबीचको घनिष्ठ सम्बन्ध आगामी दिनमा थप सुदृढ हुँदै जाने विश्वास व्यक्त गरे ।

नेपालस्थित अमेरिकी दूतावासका राजनीतिक विभाग प्रमुख क्लिन्टोन टाड ब्राउनले नेपालले अङ्गिकार गरेको लोकतान्त्रिक प्रणालीको सुदृढीकरण, मानवीय सहायता र विपद् व्यवस्थानका क्षेत्रमा अमेरिकाले सहयोग गर्दै आएको बताए ।

मञ्चका कार्यवाहक अध्यक्ष झलकनाथ वाग्लेले विश्व अवस्था र भविष्यको नेपालबारे प्रसिद्ध विज्ञका विचार, दृष्टिकोण र अनुभव आदानप्रदान होस् भन्ने हेतुले कार्यक्रम आयोजना गरिएको बताए ।

मञ्चका संस्थापक महासचिव होमराज दाहालले हाम्रो हेलचेक्र्याइँ र अव्यवस्थाका कारण वातावरणमा भएको क्षयीकरणले पृथ्वीका वन्यजन्तु र वनस्पती खतरामा पर्दै गएको अवस्थामा वातावरणलाई कसरी जोगाउने भन्ने विषय सबैका लागि साझा चुनौती भएको बताए।

“जलवायु परिवर्तनबाट उत्पन्न हुने चुनौतीको सामना गर्न क्षेत्रीय र विश्वव्यापी सम्बन्ध स्थापनाका लागि आपसी सहयोग, समझदारी, शान्ति र अहिंसालगायतका आवश्यक संयन्त्रमार्फत भाबी पुस्ताका लागि हामीले स्वच्छ वातावरणसहितको पृथ्वी हस्तान्तरण गर्न सक्नुपर्छ”, उनले भने ।

मञ्चका उपाध्यक्ष गोविन्दबहादुर शाहले नयाँ संविधान जारी भएसँगै मुलुकमा राजनीतिक स्थायित्व कायम भई नेपाल सङ्घीय गणतान्त्रिक व्यवस्थामा प्रवेश गरेको हुँदा अब सबैको साझा कार्यसूची समृद्ध नेपाल हुनुपर्छ भने ।

सो अवसरमा सहभागी अन्य वक्ताले विकास र समृद्धिका लागि राज्यको क्षमता अभिवृद्धि र एकतासहित प्रणालीगत विकासमा आइपर्ने सबैखाले समस्या समाधानका लागि सबै क्षेत्रले मिलेर काम गर्नुपर्ने आवश्यकतामा जोड दिएका थिए ।

कार्यक्रममा भारत, जापान, भारत र अमेरिकाका विज्ञले प्रस्ततु गरेको कार्यपत्रबाट नेपाली जनता र मुलुकको उज्ज्वल भविष्य निर्माणका लागि सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरिएको थियो । कार्यक्रममा नेपालस्थित कूटनीतिक नियोग र विकास साझेदार संस्थाका प्रतिनिधि सहभागी थिए ।

सङ्घीय संसद्को सल्लाहकार संयन्त्रका रूपमा आजभन्दा १९ वर्षअघि मञ्चको स्थापना भएको हो । सङ्घीय संसद्लाई कानून निर्माणलगायतका विषयमा राय, सुझाव र परामर्श प्रदान गर्ने औपचारिक संयन्त्रका रूपमा मञ्चले काम गर्दै आएको छ । मञ्चको आजीवन सदस्यका रूपमा ५०० पूर्व सांसद हुन् ।