आर्थिक

तीन खर्ब ४५ संचितकोष रहेको कर्मचारी सञ्चय कोषको ५८ औ वार्षिकोत्सव सम्पन्न

काठमाण्डौ । कर्मचारी सञ्चय कोषले आज आफ्नो स्थापनाको ५८ औ वार्षिकोत्सव मनाएको छ । कोषद्धारा आज आयोजित वार्षिकोत्सव कार्यक्रममा बोल्दै अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालको संविधानमा उल्लेखित मौलिक हकको रुपमा रहेको सामाजिक सुरक्षाको हक पुरा गर्ने कार्यमा कोषको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । उनले कोषजस्ता दीर्घकालिन सम्झौतित बचत गर्ने संस्थाको लगानी पूजी बजार, मुद्रा बजार र पूर्वाधार विकासको क्षेत्रमा उपयोग गर्नुपर्ने कुरा बताए ।

यसैगरी सोही कार्यक्रममा बोल्दै अर्थसचिव तथा कर्मचारी सञ्चय कोष सञ्चालक समितिका अध्यक्ष शिशिर कुमार ढुंगानाले कोषले योगदानमा आधारित निवृत्तिभरण कार्यक्रम सञ्चालनको जिम्बेबारी पाएसँगै आगामी दिनमा कोषको परम्पारागत भूमिकामा परिवर्तन हुने र यसलाई कार्यान्वयन गर्न ब्यवसायिकता र दक्षताको पूर्ण उपयोग गर्नुपर्ने बताए ।

सोहि कार्यक्रममा बोल्दै कोषका प्रशासक तुलसी प्रसाद गौतमले कोष अन्ठाउन्न बर्षमा प्रवेश गरिरहदा यसको गन्तब्यले नयाँ मोड लिएको बताउनुभयो । उहाँले परम्परागत सञ्चय कोष प्रणालीलाई निवृत्तिभरण प्रदायक संस्थाको रुपमा रुपान्तरित हुने अवसर प्राप्त भएको र यस्तो विश्वास र भरोसाका लागि नेपाल सरकारप्रति आभार ब्यक्त गरे ।

कार्यक्रममा अर्थमन्त्री डा.युवराज खतिवडाले कर्मचारी सञ्चय कोषले योगदानमा आधारित निवृत्तिभरण कार्यक्रमको लागि तयार गरेको कम्प्युटर प्रणालीको शुभारम्भ गर्नुभयो भने कोषमा २५ वर्ष सेवा गर्ने २ जना कर्मचारीलाई दिर्घसेवा पदकबाट सम्मान गरेका थिए।
कोषले २०७६ श्रावण १ पछि स्थायी नियुक्त हुने सरकारी सेवाका सम्पूर्ण कर्मचारीहरुका लागि योगदानमा आधारित निवृत्तिभरण योजना कार्यान्वयनको जिम्बेबारी पाए सँगै सञ्चालनको तयारी पुरा गरेको छ । यसको लागि आवश्यक पर्ने संरचनागत, प्रकृयागत एवम प्रणालीगत तयारी पुरा गरिइसकेको छ ।

कर्मचारी सञ्चयकोष ऐन २०१९ अनुसार वि.सं.२०१९ भदौ ३१ गते स्थापना भएको कर्मचारी सञ्चय कोषमा हाल ६ लाख सञ्चयकर्ताहरुको करिव ३ सय ४५ अर्व भन्दा बढीकोे वित्तिय स्रोत रहेको छ । उक्त रकमबाट कोषले सञ्चयकर्ताको सेवाकालिन आवश्यकता पूर्ति गर्नको लागि विशेष सापटी, शैक्षिक सापटी, घर सापटी, घर मर्मत सापटी र सञ्चयकर्ता सरल चक्र कर्जा जस्ता सापटी सुविधाहरु प्रदान गरिरहेको छ भने मुनाफा रकमबाट सामाजिक सुरक्षण कोष खडा गरी प्रसुती स्याहार, क्रिया खर्च, दुर्घटना क्षतिपूर्ति र सञ्चयकर्ता स्वास्थ्य विमा कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।

यसैगरी कोषले मुलुकको पूर्वाधार विकासको लागि विभिन्न जलविद्युत कम्पनीहरु माथिल्लो तामाकोशी, चिलिमे जलविद्युत कम्पनीद्धारा प्रबर्धित विभिन्न जलविद्युत आयोजनाहरुमा ऋण लगानी गरिरहेको छ भने नेपाल बायु सेवा निगमलाई विमान खरिद गर्न ऋण लगानी गरेको छ यस्तै कोषले अधिकांश शेयर स्वामित्व सञ्चयकर्ताहरुको रहने गरी बेतन कर्णाली जलविद्युत आयोजना निर्माण प्रकृयाको शुरुवात गरेको छ ।