पत्रपत्रिका

जुन गोरुको सिंह छैन उसको नाम तीखे, मिल्स एरियामै छैनन् उद्योग

विराटनगर । कुनै समय यहाँको मिल्स एरियामा पाइलैपिच्छे उद्योग थिए । क्षेत्रको नामै मिल्स एरिया रह्यो । दशकयता भने चमक हराउदै गएको छ । अधिकांश उद्योग बन्द छन् ।

मुलुककै पहिलो उद्योग विराटनगर जुट मिल विसं १९९३ मा स्थापना भएपछि यो क्षेत्रमा डेढ दर्जनभन्दा बढी उद्योग खुलेका थिए । तीमध्ये अधिकांस उद्योग अहिले बन्द भइसकेका छन् । विराटनगर जुट मिल खुलेसँगै मोरङ सुगर मिल, शाहा उद्योग, जुद्ध म्याच, हुलास मेटल, अशोक टेक्सटायल, गणपति कटन मिल थपिए । हनुमान जुट प्रेस, अरुण उदय स्टिल, गुहेश्वर राइस, यामाहा मोटर कम्पनी, नेपाल जुट प्रेस, गुहेश्वरी सोलभेन्ट, कोसी मेटल, कोसी धान–चामल कम्पनी स्थापना भए ।

नेपाल व्यापार कम्पनी, नेपाल ट्रेडिङ, अन्नपूर्ण फर्निचर, नेपाल व्यापार कम्पनीलगायतका उद्योग खुलेपछि यस क्षेत्रको चहलपहलै बेग्लै थियो । अहिले ती सबै उद्योगहरू बन्द छन् । २० हजारभन्दा बढीको रोजगारीसमेत गुमेको स्थानीयको गुनासो छ ।

एकाध बाहेक सबै उद्योग बन्द हुँदा यहाँको वाणिज्य र नेपाल बैंकको करोडौं लगानी प्रभावित भयो । ती दुवै बैंकले उद्योगका मेसिनरी सामान कवाडीलाई बिक्री गरेर र जमिन लिलाम गरेर लगानी असुली गरेका छन् । यहाँ उद्योग खुलेपछि तिनै उद्योगलाई ऋण लगानी गर्न बैंकका शाखा खुलेका थिए ।

गणपति कटन उद्योगले बैंकमा धितोबापत राखेको मेसिनरी सामान र भवनका सबै इँटा चोरी भएका छन । यो उद्योगले नेपाल बैंक र वाणिज्य बैंक रानी शाखालाई साँवा र ब्याज गरेर ४० करोडभन्दा बढी ऋण तिर्न थियो । उद्योगले नेपाल बैंकबाट २ करोड ७४ लाख साँवा र ब्याजसहित २४ करोड २१ लाख तथा वाणिज्य बैंकको १ करोड ८० लाख साँवा र ब्याजसहित १६ करोडभन्दा बढी तिर्न बाँकी रहेपछि मेसिनरी सामान र जग्गा बिक्री गरेर असुली गरेको सम्बद्ध बैंक स्रोतले जनाएको छ ।

विराटनगर जुट मिल र मोरङ सुगर मिलमा नेपाल बैंकको करिब एक करोड लगानी प्रभावित बनेको छ । दुवै उद्योगमा बैंकले सरकारको ग्यारेन्टीमा लगानी गरेको हो । उक्त बैंकको करिब ४० लाख लगानी रहेको जुद्ध म्याच उद्योग पनि बन्द छ । विगतका सरकारले अपनाएको औद्योगिक नीतिका कारण त्यस क्षेत्रका सबै उद्योग बन्द भएको उद्योगी एवं मोरङ व्यापार संघका पूर्वअध्यक्ष पवनकुमार सारडाले बताए ।

‘अहिले मिल्स एरियामा एउटा पनि उद्योग नहुनु राज्यको गलत नीति कारक हो । उद्योग चलुन् वा नचलुन् राज्यलाई कर भए पुग्छ । सरकारले हचुवाको भरमा कर र नीति निर्धारण गर्दा अन्य क्षेत्रका बाँकी उद्योग पनि बन्द गर्नुपर्ने अवस्था सृजना भएको छ,’ उनले भने ।

उद्योग सञ्चालनमा हुँदा यस क्षेत्रका प्रायः सबै घरका बासिन्दाले रोजगारी पाएका थिए । उद्योग बन्द भएसँगै रोजगारी पनि गुम्यो । त्यसवेला यस क्षेत्रका हरेक घरका एकदेखि पाँच जनासम्मले रोजगारी पाएका थिए । विराटनगर जुट मिलमा तीन दशक रोजगारी गरेका अशोक राई भन्छन्, ‘उद्योग सञ्चालन हुँदा यो एरियाकै भविष्य गुलजार थियो । अहिले बस्तीकै गुजारा बिचल्लीमा परेको छ ।’

उनका अनुसार उद्योग बन्द भएसँगै रोजगारी गुमाउने केही मजदुरीका लागि भारत छिरे । अधिकांश यही भौतारिँदै छन् । अहिले मिल एउटै छैन तर ठाउँको नामचाहिँ मिल्स एरिया नै कायम रहँदा अनौठो लाग्न थालेको त्यहाँका वडाध्यक्ष मनोज सुब्बाले बताए । ‘जनप्रतिनिधिले विराटनगर जुट मिललाई पुनःसञ्चालन गर्न पहल गरे पनि सरकारले बेवास्ता गर्दा सम्भव भएन,’ सुब्बाले भने । कान्तिपुरबाट