अन्तर्राष्ट्रिय

निर्वाचनको सङ्घारमा इजरायलद्वारा वेस्ट बैंकमा दुई नयाँ वस्ती स्थापना गर्ने घोषणा

एजेन्सी । इजरायली प्रधानमन्त्री वेन्जामिन नेतन्याहुको सरकारद्वारा निर्वाचनको सङ्घारमा आएर वेस्ट बैंकमा दुई नयाँ वस्ती बसाल्ने प्रस्तावलाई अनुमोदन गरेको छ । यसलाई प्रधानमन्त्री नेतन्याहुले निर्वाचनमा आफ्नो पक्षमा मत तान्ने रणनीति भनी कतिपय इजरायली विश्लेषकहरूले बताएका छन् ।

आगामी दुई दिनपछि इजरायलमा आम निर्वाचन हुँदैछ । नेतन्याहुको मन्त्रीपरिषद्ले जोर्डन उपत्यकाको मेभुत येरिको, जसलाई प्यालेष्टिनीहरूले आफ्नो भूमि भएको दावी गर्दै आएका छन्, मा वस्ती बसाल्ने प्रस्तावलाई अनुमोदन गरेको छ । नेतन्याहुले गत हप्ता जोर्डन उपत्यकालाई जोड्ने भनी गरेको प्रतिवद्धता अनुरूप पछिल्लो निर्णय आएको हो ।

यद्यपि यस कदमलाई अन्तराष्ट्रिय कानूनले गैरकानूनी ठहर गरेको छ भने इजरायलले यसलाई अनुमोदन गरेको र नगरेको भनी छुट्टाएको छ । आइतबार नेतन्याहूको कार्यालयले एक विज्ञप्ति जारी गरी भनेको छ, “मन्त्रीपरिषद्ले मेभुत येरिचोमा वस्ती बसाल्ने प्रधानमन्त्रीको प्रस्तावलाई स्वीकृति प्रदान गरेको छ ।”

यसैबीच प्रधानमन्त्री नेतन्याहुले वेस्ट बैंकमा वस्ती विस्तार गरिने र यसलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको समन्वयमा अघि बढाइने बताए । नेतन्याहुको वस्ती विस्तारसम्बन्धी पछिल्लो योजनालाई गत हप्ता नै प्यालेष्टिनी, यूरोपेली संघ तथा संयुक्त राष्ट्र संघले आलोचना गरेका छन् ।

नेतन्याहुले जोर्डन उपत्यकामा वस्ती विस्तार गर्ने योजना जेरिकोजस्ता प्यालेष्टिनी शहरहरूमा नभएको तर इजरायली भूमिलाई घेर्ने रणनीति अनुसार अघि सारिएको प्रतिक्रिया दिनुभएको छ । पूर्व सैन्य प्रमुख वेन्नी गान्जसँग कठीन प्रतिस्पर्धामा रहेको मानिएका नेतन्याहुले गान्जकोे नीलो र सेतो मध्यपन्थी गठबन्धन र दक्षिणपन्थी राष्ट्रवादी मतलाई आफ्नो पकडमा पार्ने उद्देश्यबाट वस्ती विस्तारको रणनीति आएको इजरायली राजनीतिक विश्लेषकहरूले बताएका छन् ।