अन्तर्राष्ट्रिय

आन्ध्र प्रदेशमा डुङ्गा दुर्घटना हुँदा ११ को मृत्यु

एजेन्सी । भारतको दक्षिणपूर्वी राज्य आन्ध्र प्रदेशमा आइतबार दिउसो भएको डुङ्गा दुर्घटनामा परी कम्तीमा ११ जनाको मृत्यु भएको प्रहरीले बताएको छ ।

डुङ्गाले ६१ पर्यटकहरूलाई लिएर गोदावरी नदीमा यात्रा गरिरहेका समय दुर्घटना भएको आन्ध्रप्रदेशको विपद् व्यवस्थापन अधिकारीले बताएका छन् । घटनामा कम्तीमा २० जनालाई सकुशल उद्धार गरेको बताइएको छ भने दुई दर्जनभन्दा बढी व्यक्ति हराइरहेका छन् । प्रहरीका अनुसार आन्ध्र पर्यटन विकास निगमको उक्त डुंगामा ११ जना चालक दलका सदस्य ५० पर्यटक रहेको बताइएको छ ।

पर्यटकबारे थप जानकारी प्राप्त भइसकेको छैन । उद्धार जारी रहेको छ । आन्ध्र प्रदेशका मुख्यमन्त्री जोगान मोहन रेड्डीले डुङ्गा दुर्घटनामा केही पर्यटकको मृत्यु भएको र केही व्यक्ति वेपत्ता भएको पुष्टि गर्दै मृतकका परिवारलाई राहतस्वरूप दश लाख रूपैँया प्रदान गर्ने घोषणा गरेका छन् ।

राज्य सरकारको तर्फबाट जारी विज्ञप्तिमा रेड्डीले राष्ट्रिय विपद् व्यवस्थापन बल एनडीआरएफ सामुद्रिक सैन्य बल तथा ओएनजीसी हेलिकोप्टरलाई उद्धारका लागि तत्काल घटनास्थल जान निर्देशन दिएका हुन् ।

उनले घटनास्थल नजिकमा रहेका मन्त्रीहरूलाई उद्धार कार्यको अनुगमन गर्न निर्देशन दिएका छन् । सरकारले जिल्लास्थित सबै डुङ्गा सेवालाई रोकी लाइसेन्स परीक्षण गर्न पनि निर्देशन गरेको छ ।