समाचार

ज्ञानेन्द्र शाहीको पत्रकार सम्मेलनमा नेकपा कार्यकर्ताको आक्रमण

काठमाडौं । भ्रष्टाचार विरोधी नागरिक अभियन्ता ज्ञानेन्द्र शाहीलाई सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकटका नेता तथा कार्यकर्ताहरूले हातपात गरेका छन् ।

दुईतिहाइको बलियो कम्युनिस्ट सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईका कारण बुद्ध एयरको जाहाज एक घण्टासम्म ढिला भएको विषयमा शाहीले ललितपुरमा आइतबार पत्रकार सम्मेलन राखेका थिए ।

पत्रकार सम्मेलनमा पत्रकारको भेषमा प्रवेश गरेका २०–२५ जनाको नेकपा निकटका ‘अरिँगाल’हरूले नागरिक अभियन्ता शाहीको पत्रकार सम्मेलन विथोलिदिएका हुन् । उनीहरूले शाहीलाई हातपातको प्रयास समेत गरेका छन् ।

पत्रकार सम्मेलनमा जथाभावी प्रश्न सोध्न थालेपछि शाहीले तपाई कुन मिडियाबाट हो भनेर सोधेका छन् । ती अरिँगालहरूले ‘हामी विद्यार्थी हो’ भनेका छन् ।

त्यसपछि शाहीले ‘यो विद्यार्थीका लागि होइन, पत्रकार सम्मेलन हो’ भनेका थिए । लगत्तै अरिँगालहरूले आक्रमण गरेको भिडियोमा देखिएको छ ।

‘अरिँगाल’हरूको आक्रमणबाट शाहीलाई प्रहरीले बचाएको थियो । उनीहरूको आ’क्रमणबाट शाहीका केही समर्थकहरू सामान्य घाइते भएको शाहीको फेसबुकमा राखिएको भिडियोमा उल्लेख छ ।

भिडियोअनुसार शाहीलाई नेकपाका अरिँगालहरूले विभिन्न लाञ्जना लगाएर पर्यटनमन्त्री भट्टराई विरुद्ध किन अभिव्यक्ति दिएको बताएका छन् ।

उनीहरूले मन्त्री भट्टराईको विरोध गर्न नहुने समेत बताएका छन् ।