आर्थिक

उद्योग वाणिज्य सङ्घको अध्यक्षमा अर्यालसहित भयो यस्तो टिम विजयी

वालिङ । गल्याङ उद्योग वाणिज्य सङ्घको अध्यक्षमा प्रगतिशील समूहका यज्ञप्रसाद अर्याल विजयी भएक छन् । गएराति सम्पन्न मतगणनाबाट प्रगतिशील समूहका अर्याल २२५ मत प्राप्त गरी विजयी भएका हुन् भने उनका निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक समूहका ध्रुव श्रेष्ठले २१५ मत प्राप्त गरेका थिए ।

नेकपा निकट रहेको प्रगतिशील समूह र नेपाली काङ्ग्रेस निकटको लोकतान्त्रिक समूहबीच प्यानल बनाएर निर्वाचन भएको थियो । नयाँ कार्यसमितिका लागि भएको निर्वाचनबाट लोकतान्त्रिक समूह वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, सहकोषाध्यक्षसहित अन्य तीन सदस्य पदमा विजयी भएको छ । प्रगतिशील समूह अध्यक्ष, कोषाध्यक्षसहित दुई सदस्य पदमा विजयी भएको निर्वाचनमण्डलका प्रमुख निर्वाचन अधिकृत बालकृष्ण चापागाईंले बताए ।

अध्यक्षमा विजयी अर्याल २२५, वरिष्ठ उपाध्यक्ष इन्द्रप्रसाद अधिकारी २३२, उपाध्यक्ष बाबुराम पाण्डे २१७, महासचिव कृष्णप्रसाद भट्टराई २७४, सचिवमा उमा श्रेष्ठ २५३, कोषाध्यक्षमा बलराम श्रेष्ठ २१४, सहकोषाध्यक्षमा होमलाल भट्टराई २२८ मतका साथ विजयी भएका हुन् ।

त्यसैगरी सदस्यमा गुमप्रसाद थापा, नरबहादुर गुरुङ, ऋषि बस्याल, हुमकान्त पाठक र चिन्तामणि अर्याल विजयी भएका छन्। चार सय ७० मतदाता रहेको गल्याङ उद्योग वाणिज्य सङ्घको शनिबार भएको मतदानमा ४४५ मत खसेको थियो ।