पर्यटन/संस्कृति

सातै प्रदेशमा एउटा/एउटा मुख्य विमानस्थल बनाउने तयारीमा सरकारः मन्त्री भट्टराई

अत्तरिया । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन सबैको सहयोग आवश्यक रहेको बताएका छन् । कैलाली उद्योग वाणिज्य सङ्घद्वारा आज यहाँ आयोजित स्वागत कार्यक्रममा उनले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन पर्यटकीय गतिविधि सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

उनले छिमेकी मुलुक भारतसहितका देशमा पर्यटकीय गन्तब्यको प्रचारप्रसार गरी भ्रमण वर्षमा बाह्य पर्यटक नेपालमा भित्र्याउन निजी क्षेत्रलाई आग्रह गरे । मन्त्री भट्टराईले हवाई सेवालाई प्रभावकारी बनाउन सबै प्रदेशमा एउटा/एउटा मुख्य हवाई केन्द्र बनाउने तयारी भइरहेको बताए ।

उनले भ्रमण वर्षलाई लक्षित गरी सबै प्रदेशमा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीको संयोजकत्वमा समिति गठन गरी काम अघि बढिरहेको जानकारी गराए । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा बन्द रहेका विमानस्थल सञ्चालनका लागि प्राविधिक टोलीले अध्ययन गरी पछिल्लो अवस्थाबारे जानकारी दिन निर्देशन दिइसकिएको उनले बताए ।

उनले सुदूरपश्चिममा पर्यटन क्षेत्रको विकासका लागि ठोस योजना मन्त्रालयमा पेश गर्न सरोकारवालालाई आग्रह गरे । यसैबीच टीकापुर नगरपालिका– ७ ढुङ्गाना टोलमा आजदेखि शुरु हुने डल्फिन महोत्सवको उनले उद्घाटन गर्ने बताइएको छ ।