समाचार

बाँकेमा कांग्रेस नेतृ कोईरालामाथि हातपात गर्नेलाई कारवाही हुन्छः गृहमन्त्री थापा

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले नेपाली काङ्ग्रेसले शुरु गरेको दोस्रो चरणको जागरण अभियानअन्र्तगत बाँकेको सीतापुरमा भएको घटनाका दोषीलाई कारवाही गर्ने बताएका छन् ।

नेपाली काङ्ग्रेस काठमाडौँ, भक्तपुर र ललितपुरका जिल्लाका सभापतिले आज बिहान सिंहदरबारमा दिएको ज्ञापनपत्र बुझ्दै मन्त्री थापाले घटनाका दोषीलाई कारवाही प्रक्रिया अगाडि बढाउने बताएका हुन् । “हुन नहुने घटना भएको छ, घटनाका दोषीलाई कारवाही गर्न सरकार गम्भीर छ”,उनले भने ।।

गृहमन्त्री थापाले घटनामा दोषी देखिएका जो कोहीलाई पनि कानूनी कारवाही हुने बताएका छन् । घटनामा दोषी देखिएका केही व्यक्तिलाई नियन्त्रणमा लिइसकेको र बाँकीलाई पनि चाँडो नियन्त्रणमा लिएर कारवाही गर्ने उनको भनाई थियो ।

काङ्ग्रेस काठमाडौँका सभापति सबुज बानियाँले काङ्ग्रेसको जागरण अभियान सञ्चालनका क्रममा कार्यक्रम चलिरहेको बेलामा पार्टी जिल्ला सभापतिसहितलाई हातपात गर्नु निन्दनीय कार्य भएको बताएका थिए । काङ्ग्रेस ललितपुरका सभापति मदन अमात्यले नेपाली काङ्ग्रेसको कार्यक्रम बिथोल्ने मनसायका साथ उक्त घटना घटाइएको भन्दै घटनाको दोषीलाई तत्काल कारवाही गर्नुपर्ने बताए ।

यति ठूलो घटना हुँदा पनि गृह प्रशासन संवेदनशील नभएको उनको आरोप थियो । काङ्ग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले काङ्ग्रेसले सञ्चालन गरेको जागरण अभियानबाट आत्तिएर सत्तापक्षको प्रत्यक्ष निर्देशनमा उक्त घटना घटाइएको आरोप लगाएका हुन् ।

काङ्ग्रेसले आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन आग्रह गर्दै दोषीलाई नियन्त्रणमा लिएर कारवाही नगरे सडक र सदनमा कडा प्रतिवाद गर्ने जनाएको छ । उक्त घटनामा परी काङ्ग्रेस बाँके सभापति किरण कोइराला, महाधिवेशन प्रतिनिधि विद्याप्रसाद खनाललगायत एक दर्जन नेता तथा कार्यकर्ता घाइते भएका थिए ।