पर्यटन/संस्कृति

आजदेखी सोह्र श्राद्ध आरम्भः मन्दिरहरुमा श्राद्ध गर्नेहरुको भीड

काठमाडौं । हरेक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्म गरिने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजबाट सुरु भएको छ । पितृ पक्षको पहिलो दिन आज प्रतिपदा तिथि श्राद्ध गरिन्छ ।

आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्र तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले सोह्रश्राद्ध भनिएको हो । सक्नेले यस पक्षका सोह्रै तिथिमा श्राद्ध गर्नुपर्छ ।

यो समयमा श्राद्ध नगरे दोष ९प्रत्यवाय० लाग्नेशास्त्रमा उल्लेख छ । आश्विन कृष्ण पक्षलाई महालय, अपर, पितृ र प्रेत पक्ष पनि भनिन्छ । सोह्रश्राद्ध गर्नाले पितृप्रतिको आफ्नो दायित्वबोध पूरा हुनाका साथै पितृऋणबाट पनि मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ ।

यस अवसरमा काठमाडौँ उपत्यकाको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर उत्तरगया, नुवाकोटको बेत्रावती उत्तरगया, देवघाट, त्रिवेणीलगायत तीर्थस्थलमा पनि पितृप्रति श्रद्धाभावसाथ श्राद्ध गर्नेको भीड लाग्छ ।