गण्डकी प्रदेश

ऐतिहासिक गोरखा दरबारमा राखियो मूलढोका

गोरखा । ऐतिहासिक गोरखा दरबार पुनःनिर्माण शुरु भएको १६ महीनापछि शुक्रबार दरबारको मूलढोका राखिएको छ । आउँदो पुसको अन्तिमसम्ममा निर्माण सम्पन्न गर्नुपर्ने दरबारको पुनःनिर्माणमा ढिलाइ हुँदा बल्ल मूलढोका राख्ने काम सकिएको गोरखा दरबार हेरचाह अड्डाका सूचना अधिकारी रामेश्वर कट्टेलले जानकारी दिएका छन् ।

दरबारमा पुरानै संरचनाअनुसार विधिपूवर्क परम्परागत शैलीको मूलढोका राखिएको छ । सूचना अधिकारी कट्टेलले भन्नुभयो, “यसअघि भुईंतलामा रहने थामहरु राख्ने काम सकियो, परम्परागत इँटाको गारो लगाउने काम जारी छ ।” लामो समयदेखि विभिन्न कारण देखाउँदै निर्माणमा ढिलाइ भइरहेको दरबारको पुनःनिर्माणले अहिले गति लिएको छ । आउँदो दशैँअघिसम्ममा दरबारको पहिलो तला छाप्ने काम पुरा गरिने दरबार पुनःनिर्माणको जिम्मा पाएको पचली सिभाको जेभी कन्स्ट्रकसन प्रालिका प्रतिनिधि उज्वल श्रेष्ठले बताए ।

भुईतलालाई आवश्यक थप पाँच ढोका र आँखीझ्याल जडानको काम भइरहेको छ, काठको काम सकिएपछि गारोको काम सक्न धेरै समय लाग्दैन”, उनले भने । परम्परागत गारो लगाउँदा चुनासुर्कीको प्रयोग गरिएकाले एकैदिन धेरै गारो लगाउन मिल्दैन । त्यसलाई सुक्न दिनुपर्ने भएकाले स्वभाविकरुपमा ढिलाई हुन्छ । पुनःनिर्माणका लागि तोकिएको समयमा नभए पनि अहिलेको गतिअनुसार निर्माण अघि बढाउन सके र थप केही समस्या नभए अबको छ महीनामा निर्माण सम्पन्न गरिने ठेकेदार कम्पनीका प्रतिनिधिको दाबी छ ।

भनेको आकारको काठ नपाइनु तथा भ्यालढोकामा बुट्टा बनाउन अरु कामभन्दा गाह्रो हुने भएकाले तोकिएको समयमा निर्माण सम्पन्न गर्न अप्ठेरो परेको हो । “पुरानो शैलीमा परिवर्तन हुन दिनु भएन, त्यही शैली र बुट्टा निर्माण गर्दा राम्रोसँग हेरेर गर्नुयर्यो श्रेष्ठले भने “काम गर्ने सिकर्मीलाई सजिलो छैन ।” काठमाडौँबाट अनुभवी सिकर्मी ल्याएर बुट्टेदार दरबारको भ्यालढोका निर्माण भइरहेको छ ।

गोरखा भूकम्पले पूर्णरुपमा क्षति पुर्याएको दरबारको पुनःनिर्माण पुरानै संरचनामा गरिएको हो । राष्ट्रिय पुरातत्व विभागसँग पुनःनिर्माणका लागि सम्झौता भए पनि पटक–पटक दरबारको जग निर्माणका लागि डिजाइनमा परिवर्तन भएकाले आफूहरुलाई काममा तीव्रता दिन गाह्रो भएको श्रेष्ठले दाबी गरेका छन् ।

कम्पनीले सम्झौता भएको दुई वर्षभित्रमा पुनःनिर्माण सम्पन्न गर्ने गरी पुरातत्व विभागसँग ठेक्का सम्झौता गरेको छ । सम्झौताअनुसार कम्पनीले करीब १७ महीनाभित्र मन्दिर पुनःनिर्माण सक्नुपर्ने गरी सम्झौता भएको हो । विसं २०७४ को कात्तिकमा ठेक्का सम्झौता भएर २०७५ को वैशाख ७ गतेदेखि विशेष साइत निकालेर दरबारको जग पूजा गरी पुनःनिर्माण शुरु भएको थियो ।

तत्कालीन राजा राम शाहको पालामा विसं १६६६ ताका बनेको अनुमान गरिएको गोरखा दरबार रु चार करोड ३७ लाख लागतमा निर्माण हुन लागेको हो । नेपाल एकीकरणमा महत्वपूर्ण योगदान पुर्याएका तत्कालीन राजा पृथ्वीनारायण शाहको जन्मस्थल रहेको यो दरबार नेपालको महत्वपूर्ण ऐतिहासिकस्थल मानिन्छ ।

गोरखा सदरमुकामभन्दा माथि पहाडको टुप्पामा रहेको दरबारको पश्चिम दिशामा देवी गोरखकालीको मन्दिर छ । ऐतिहासिक गोरखकाली मन्दिरको मुनितिर गुफामा गोरखनाथको मन्दिर छ । भूकम्पले भत्काएको गोरखनाथको गुफा यसअघि निर्माण भइसकेको गोरखा दरबार हेरचाह अड्डाका सूचना अधिकारी कट्टेलले जानकारी दिएका छन् ।