अन्तर्राष्ट्रिय

चीनले भटमास र मासुमा थप भन्सार कर सूची हटाउने

एजेन्सी । चीनको राज्य परिषद् भन्सार कर निर्धारण समितिले भटमास तथा सुँगुरको मासुजस्ता अमेरिकी कृषि उत्पादनहरूमा लगाइने गरी यसपहिले तय भएको थप भन्सार कर लिने सूचीबाट ती उत्पादनलाई हटाउने निर्णय गरेको छ ।

स्थापित वाणिज्य सिद्धान्त तथा विश्व व्यापार संगठनको नियम बमोजिम सम्बद्ध चिनियाँ कम्पनीले अमेरिकाबाट केही परिमाणको भटमास तथा सुँगुरको मासु लगायतका अमेरिकी कृषि उत्पादनको आयातमा थप कर उठाउने निर्णयलाई चीनले तत्कालका लागि कार्यान्वयन नगर्ने बताएको हो ।

अमेरिकाले अक्टोबर १ देखि अमेरिकातर्फ निर्यात हुने चिनियाँ उत्पादनमा थप भन्सार कर उठाउने कदमलाई हेरफेर गर्ने निर्णय गरेको भन्दै चीनको यो निर्णय आएको यहाँको वाणिज्य मन्त्रालयले जनाएको छ ।

विशाल चिनियाँ बजारबाट अमेरिकी उच्च गुस्तरीय कृषि उत्पादित वस्तुलाई भित्रा्याउने फराकिलो भविष्य भएको र अमेरिकाले आफ्नो वचन कार्यान्वयन गर्दै दुई देशबीच कृषि सहयोगको लागि राम्रो वातावरण सिर्जना गर्ने आशा चीनले लिएको सम्वद्ध चिनियाँ विभागहरूले जनाएका छन् ।

आगामी अक्टोबरमा बेइजिङ र वासिङ्टनबीच व्यापार वार्ताका लागि कार्यक्रम तय भएको अवस्थामा अमेरिकाले थप भन्सार कर उठाउने कदमलाई हेरफेर गर्ने निर्णयलाई पछ्याउँदै र चीनले पनि भटमास र मासुमा थप कर वृद्धि नगर्ने निर्णय लिएको हो ।