अन्तर्राष्ट्रिय

काँग्रेस नेतृ सोनियाले बोलाएको बैठकमा नेता राहुल नै अनुपस्थित

एजेन्सी । भारतीय राष्ट्रिय काँग्रेसकी अन्तरिम अध्यक्ष सोनिया गान्धीले बोलाएको महत्वपूर्ण र निर्णायक मानिएको बैठकमा निवर्तमान अध्यक्ष राहुल गान्धी अनुपस्थित भएका छन् । बैठकका लागि उनलाई बोलाइएको र स्मरण गराइएको भएपनि उनि उपस्थित नभएको नेताहरूले जानकारी दिएका छन् ।

सन् २०१७ मा पार्टी अध्यक्ष बनेका राहुलले केही महिना अगाडि भएको निर्वाचनमा पार्टीको नराम्रो पराजय भएपछि नैतिकताको आधारमा पार्टी अध्यक्षबाट राजिनामाको घोषणा गरेका थिए । उनलाई पार्टीका धेरै नेता तथा कार्यकर्ताहरूले राजिनामा फिर्ता लिन पटक पटक आग्रह गर्दा पनि अस्वीकार गर्दै आएका थिए ।

पार्टी केन्द्रीय कार्यालयमा पार्टीका महासचिवहरू, प्रदेश अध्यक्षहरू, पार्टीका सांसदहरूलगायतको संयुक्त बैठकमा उनि अनुपस्थित भएका थिए । नेता गान्धी अहिले कांग्रेस पार्टीको कुनै पदाधिकारी नभएपनि केन्द्रीय सदस्य र सांसद भने हुन् । उनि हालै भएको आम निर्वाचनमा वायानादबाट लोकसभामा निर्वाचित भएका हुन् ।

राहुल निकट श्रोतले एएनआईलाई दिएको जानकारी अनुसार उनले पार्टीको महत्वपूर्ण जिम्मेबारी आफुले त्याग गरिसकेकाले अत्यावश्यक बाहेक पार्टीको महत्वपुर्ण बैठकहरूमा नजाने अडान लिएका छन् । यसअघि उनले संविधानको धारा ३७० लाई सरकारले खारेज गरेको विषयमा छलफल गर्न आयोजित केन्द्रीय समितिको बैठकमा सहभागीता जनाएका थिए ।

राहुलले राजिनामा फिर्ता नलिएपछि पार्टीको अन्तरिम अध्यक्षका रूपमा पूर्व अध्यक्ष सोनीया गान्धीले जिम्मेवारी लिएकि थिईन । झण्डै १२ बर्षपछि काँग्रेसको केन्द्रीय कार्यालयमा अहिले राहुलको कुनै ‘नेमप्लेट’ छैन भने उनले केन्द्रीय सदस्यका रूपमा मात्रै आफूलाई प्रस्तुत गर्ने गरेका छन् ।