खेलकुद

अण्डर– १६ च्याम्पियनसिपमा नेपाललाई बलियो जोर्डनको चुनौती

काठमाडौं । एएफसी यू–१६ च्याम्पियनसिप छनोट प्रतियोगिताका लागि जोर्डन पुगेको नेपाली टोलीले आज पहिलो खेल खेल्दैछ । नेपालले शनिबार बलियो टिम तथा घरेलु टोली जोर्डनसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । नेपाल र जोर्डनबीचको खेल अम्मानको जार्का सिटीस्थित प्रिन्स मोहम्मद अन्तर्राष्ट्रिय रंगशालामा हुनेछ ।

बलियो जोर्डनविरुद्ध नेपाललाई जित निकाल्न फलामको चिउरा चपाउनु सरह हुनेछ । तर, नेपाल जोर्डनलाई कम्तिमा बराबरीमा रोक्ने योजनामा हुनेछ । नेपालका प्रशिक्षक सुनिल श्रेष्ठले पहिलो खेलमा धेरै चुनौति सामना गर्नु पर्ने भएपनि बराबरीमा रोक्ने योजना रहेको बताए ।

जोर्डन एक बलियो प्रतिद्वन्दी हो र उनीहरुकै घरेलु मैदानमा खेल्दा हामीलाई दबाब अवश्य हुनेछ । हाम्रो पहिलो लक्ष्य भनेको उनीहरुलाई बराबरीमा रोक्ने हो । प्रशिक्षक श्रेष्ठले प्रि म्याच कन्फरेन्स भने, यसका लागि हामीले आफ्नो रक्षापंक्ति बलियो बनाउनुपर्नेछ । हामीले काउन्टर अट्याकमा गोल गर्ने मौको सृजना गर्दै त्यसको भरपुर फाइदा उठाउनु पर्नेछ ।

हालै भारतमा सम्पन्न साफ यू(१५ च्याम्पियनसिपमा उपविजेता बनेको नेपालले दुई साताको अन्डरमा दोस्रो प्रतियोगिता खेल्न लागेको हो । तर, भारतमा नेपाली टोलीको कप्तानी गरेका प्रदिप लम्सालसहित असिम राई र इश्वर गुरुङ टिममा छैनन् । एमआरआईबाट तीनै खेलाडीको उमेर बढी भएको रिपोर्ट आएपछि उनीहरु जोर्डन गएका छैनन् ।

तर, जोर्डनविरुद्ध मैदान उत्रदा नेपाली टिम साफ अण्डर– १५ को फाइनलमा भारतसँग व्यहोरेको हारबाट पाठ सिक्दै मैदान उत्रने छ । भारतविरुद्बिध कोलकातामा भएको फाइनलमा हामी जसरी पराजित भयौं । त्यसले हामीलाई ठूलो पाठ सिकाएको छ ।

पुरै नेपाली टोली यो प्रतियोगितालाई लिएर निकै गम्भिर छ । भारतमा भएका गल्तिहरु हामीले यहाँ दोहोर्याउने छैनौं, प्रशिक्षक श्रेष्ठले भने यो प्रतियोगिता निकै कठिन छ तर हामी राम्रो प्रदर्शन गर्न लालायित छौं । लम्साल टिमबाट बाहिरिएपछि नेपालले जान लिम्बुलाई कप्तानको जिम्मेवारी दिएको छ ।

नेपाली टोलीको कप्तानी पाएका जान जोर्डनविरुद्ध शतप्रतिशत दिएर खेल्ने बताउछन् । तीन जना प्रमुख खेलाडी नहँदा टिममा असर त परेको छ नै तर अब हामीले यहाँ हुने खेलहरुको बिषयमा सोच्नुपर्छ । सबै टिमहरु राम्रा छन् र छनोट हुनका लागि हामीले आफ्नो शतप्रतिशत दिनु पर्नेछ । जानले भने, त्यसको लागि हामी तयार छौं ।

हामी राम्रो फुटबल खेल्न चाहन्छौं । सन् २०२० मा आयोजना हुने च्याम्पियनसिपको छनोटमा नेपाल समूह ए मा रहेको छ । नेपालको समूहमा आयोजक जोर्डनसँगै कुवेत, ताजकिस्तान र श्रीलंका रहेका छन् । नेपालले जोर्डनपछि दोस्रो खेल भदौ ३० गते कुवेतसँग खेल्नेछ । तेस्रो खेलमा असोज ३ गते ताजकिस्तानको सामना गर्दा नेपालले अन्तिम खेल असोज ५ गते श्रीलंकासँग खेल्नेछ । प्रतियोगिताको शीर्ष टोलीले दोस्रो चरणमा स्थान बनाउने छन् ।