खेलकुद

एनओसीले आज नयाँ नेतृत्व चुन्दैः ओलम्पिक कमिटिको निर्वाचन आज

काठमाडौं । नेपाल ओलम्पिक कमिटि एनओसीको नयाँ नेतृत्वका आज शनिबार निर्वाचन हुदैछ । ललितपुरको सातदोबाटोस्थित एनओसी भवनमा हुने निर्वाचन सहितको साधारण सभा बिहान ८ बजेपछि सुरु हुने छ ।

नयाँ नेतृत्वका लागि वर्तमान अध्यक्ष जीवनराम श्रेष्ठ र पुर्व उपाध्यक्ष उमेशलाल श्रेष्ठ चुनावी प्रतिस्पर्धामा छन् । साधारण सभाले एक अध्यक्ष, ५ उपाध्यक्ष, १ महासचिव, १ सह महासचिव, १ कोषाध्यक्ष, ३ सचिव र ७ सदस्य सहित १९ सदस्यीय कमिटि निर्वाचित गर्नेछ ।

पाँच उपाध्यक्षका लागि ८ जनाले प्रतिस्पर्धा गर्नेछन् । उपाध्यक्षमा ज्योति राणा, तेज बहादुर गुरुङ, पुष्प दास श्रेष्ठ, अशोक रत्न बज्राचार्य, सुनिल कुमार श्रेष्ठ, चतुरानन्द राज बैद्य, राजिब श्रेष्ठ र समिम मिया अन्सारीले उम्मेदवारी दिएका छन् । यस्तै महासचिबका लागि पुरेन्द्र बिक्रम लाखे र निलेन्द्र राज श्रेष्ठले उम्मेदवारी दिएका छन् । निलेन्द्रले जिवनराम समुह र पुरेन्द्रले उमेशलाल समुहबाट उम्मेदवारी दिएका हुन् ।

उप–महासचिबमा पिताम्बर तिम्सिना र कोषाध्यक्षमा रतन कुमार टन्डन निर्विरोध भएका छन् । उप९महासचिब र कोषाध्यक्षमा एक एक जनाको मात्र उम्मेदवारी परेको हो । ३ सचिबका लागि केशब कुमार बिष्ट, रामजी श्रेष्ठ, दिपक हर्ष वज्राचार्य र तुलसी थापा प्रतिस्पर्धामा छन् ।

त्यस्तै ७ सदस्यका लागि ८ जनाले उम्मेदवारी दिएका छन् । सदस्यका लागि रमेश प्रसाद सिवाकोटी, राम अवाले, प्रकाश शमशेर राणा, गोपाल सुन्दर लाल कक्षपति, टाँसी घले, होम बहादुर दोङ, दिर्ग बहादुर केसी र मनोरंजन रमण शर्माले उम्मेदवारी दिएका छन् ।

भदौ २० गते स्थगित भएको ओलम्पिक कमिटिको चुनाव शनिबार हुन लागेको हो । अदालतबाट मान्यता प्राप्त एनओसीका सदस्य कमलबहादुर चित्रकारले निर्वाचन रोक्न माग गर्दै अदालतमा मुद्वा दायर गरेका थिए । रिटमाथि सुनुवाई गर्दै न्यायाधिश टंकबहादुर मोक्तानको एकल ईजलासले भदौ २० गतेको निर्वाचन रोक्न आदेश दिदै भदौ २२ गते छलफलका लागि सरोकारवाल पक्षलाई बोलाएको थियो ।

दुवैपक्षसंग छलफल गरेपछि सर्वोच्चले अन्तरिम आदेशलाई निरन्तरता दिन नपर्ने फैसला गरेको हो । न्यायाधिशद्वय तेजबहादुर केसी र मनोजकुमार शर्माको संयुक्त इजलासले यसअघिको अन्तरिम आदेश निरन्तर जारी गर्न नपर्ने निर्णय सुनाएपछि एनओसी निर्वाचनको बाटो खुलेको हो । साधारण सभाले ४ बर्षका लागि नयाँ कार्यसमिति निर्वाचित गर्नेछ ।