आर्थिक

मुलुकका हरेक निकायमा महिलालाई समान अवशर छः अर्थमन्त्री खतिवडा

काठमाण्डौ । अर्थमन्त्री डा युवराज खतिवडाले दक्षिण एसियाका महिलाको नेतृत्व विकासका लागि सामूहिक पहल आवश्यक भएको बताएका छन् । दक्षिण एसियाली महिला विकास मञ्चद्वारा आज यहाँ आयोजित ‘अन्तर्राष्ट्रिय महिला उद्यमी सम्मेलन–२०१९’ को उद्घाटन गर्दै उनले दक्षिण एसियाका महिलालाई आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक रुपमा बलियो बनाउन सामूहिक पहल गरिनुपर्नेमा जोड दिए ।

महिलालाई सफल बनाउन शिक्षा आवश्यक भएको मन्त्री खतिवडाको भनाइ थियो । नेपालको सन्दर्भमा महिलाको नेतृत्व विकासका लागि संवैधानिक रुपमा स्थानीय तहदेखि नै प्रतिनिधित्व सुनिश्चित गरिएको उनले बताए । मन्त्री खतिवडाले थप अधिकारका लागि एकीकृत सङ्घर्ष गर्नुपर्नेमा जोड दिए । पछिल्लो पटक विकास भएको सूचना, सञ्चार र प्रविधिको विकासको भरपुर प्रयोग गरी महिलालाई उद्यमशीलतातर्फ केन्द्रित गर्ने सरकारको लक्ष्य रहेको उनले बताए ।

नेपालको सन्दर्भमा अहिले पनि व्यवस्थापिका, न्यायपालिका र कार्यपालिकालगायत राज्यका हरेक संरचनामा महिलाको समान सहभागिता रहेको मन्त्री खतिवडाले बताए । महिला अधिकारकर्मी भारती सिलवाल गिरीले लैङ्गिक समानताका लागि महिला र पुरुषबीच नै एकता हुनुपर्ने बताईन् । दुई दिनसम्म चल्ने सो सम्मेलनमा पर्यटन क्षेत्रमा लैङ्गिक समानता, सूचना, सञ्चार तथा प्रविधिमा महिला समानता, महिला उद्यमीको क्षमता विकासलगायत विषयमा छलफल हुने छ ।