पर्यटन/संस्कृति

हवाई उड्डयनका क्षेत्रमा सुधारका काम झल्किन थालेका छन्ः मन्त्री भट्टराई

काठमाण्डौ । सरकारले पर्यटन क्षेत्रको समग्र सुधारका लागि चालेका कदमको प्रतिफल देखापर्न थालेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले सार्वजनिक गरेको मन्त्रालयअन्तर्गतको प्रमुख प्राथमिकताका कार्यक्रमको व्यवहारिक कार्यान्वयन शुरु भएसँगै सुधारका सङ्केत देखिएका हुन् ।

मन्त्री भट्टराईको प्राथमिकतायुक्त कार्यक्रमअन्तर्गत हवाई उड्डयनका क्षेत्रमा सुधारका काम झल्किन थालेका छन् । कार्ययोजनाअनुरुप मुलुकको इज्जत र प्रतिष्ठासँग जोडिएको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको सेवा सुदृढीकरण, अन्तरराष्ट्रिय विमानस्थल मापदण्डबमोजिमको सेवा व्यवस्थापन आदि काम शुरु भइसकेको छ ।

अन्तरराष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा पहिलोपटक यात्रुको सुविधालाई मध्यनजर गर्दै विमानस्थलले ‘कन्भेयर बेल्ट’ सेवा शुरु गरेको छ । यसले घण्टौँसम्म लाइनमा बसेर ब्यागेज लिनुपर्ने झण्झटबाट यात्रुले मुक्ति पाउने अपेक्षा गरिएको छ ।

विमानस्थलतर्फ हालको विशिष्ट व्यक्तिका सवारी साधन प्रवेश मापदण्ड परिमार्जन गरी विशिष्ट व्यक्तिको सवारी साधन मात्र जहाजको ढोका नजिक पुग्ने व्यवस्था मिलाइएको छ । पर्यटनमन्त्रीको प्राथमिकतायुक्त कार्ययोजनाको ६६ नं बुँदामा परेको यो कामले चाँडै नै पूर्णता पाएको छ ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालय गौचरले बिहीबार एक सूचना जारी गर्दै विमानस्थलमा विशिष्ठ व्यक्तिको मापदण्ड लागू भएको जनाएको छ । अबदेखि विमानस्थलमा पाँच विशिष्ठ व्यक्ति, राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्षको सवारी साधनलाई मात्र विमानस्थल छिर्न दिइनेछ । अन्य विशिष्ठ पाहुनाको हकमा वायुसेवाले उपलब्ध गराउने सवारी साधनबाटै जहाजसम्ममा आउने जाने व्यवस्था मिलाइएको विमानस्थलले जारी गरेको सूचनामा उल्लेख छ ।

विमानस्थलबाट सञ्चालन हुने सवारी साधनमा जिपिएस प्रणाली लागू गरिनुका साथै चालकलाई आतिथ्य संस्कारबारे तालीम दिइनेछ । यो कामको पनि शुरुवआती चरणमा रहेको मन्त्रालयले जनाएको छ । पर्यटन मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्ययाले एकवर्षे कार्ययोजनाअनुरुप मन्त्रालयले धेरै सुधारका काम थालिसकेको बताए। उड्डयन क्षेत्रको सुधार, संस्कृति, सम्पदा संरक्षण र प्रवद्र्धन तथा अन्य मन्त्रालय मातहतका नियामक निकायका नीतिगत सुधारका काम पनि अघि बढेको उनले उल्लेख गरे ।

सत्तरी वर्षभन्दा माथिका नागरिकलाई हवाई उडानमा ५० प्रतिशत छुटको व्यवस्था गरिने घोषणाअनुरुप कार्यान्वयनको प्रक्रिया अघि बढिसकेको छ । त्यस प्रयोजनका लागि पर्यटन मन्त्रालयले कार्यदल गठन गरेर काम अघि बढाइसकेको छ । पूर्वपर्यटन सचिव सुरेशमान श्रेष्ठको संयोजकत्वमा आठ सदस्यीय कार्यदल गठन गरिएको छ । कार्यदलको सदस्यमा सहसचिवस्तरको प्रतिनिधि रहने गरी अर्थ मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, तथा नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल वायुसेवा निगम (कम्तीमा निर्देशकस्तर), लेखा विज्ञ, वायुसेवा सञ्चालक सङ्घका प्रतिनिधि रहेका छन । पर्यटन मन्त्रालयको हवाई उद्योग व्यवस्थापन महाशाखाका सहसचिवलाई सदस्य सचिवको जिम्मेवारी दिइएको छ ।

पर्यटन मन्त्रालयका सहायक प्रवक्ता प्रकाश शर्मा ढकालका अनुसार ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई आन्तरिक उडानको हवाई भाडामा ५० प्रतिशत छुटदिने सम्बन्धमा सरोकारवालासँग छलफल गरी कार्यान्वयनको आधारसहित सुझाव पेश गर्न भनिएको छ । कार्यदललाई सुझाव पेश गर्न ३० दिनको समयावधि दिइएको छ ।

मन्त्री भट्टराईले गत भदौ ९ गते पत्रकार सम्मेलन गरी पर्यटन क्षेत्रमा नीतिगत सुधार, प्रणालीको विकास, हवाई क्षेत्रको सुदृढीकरण तथा नेपाल भ्रमण वर्ष २०२० अभियानलाई सफल बनाउनेलगायत १४१ बुँदे कार्ययोजना ल्याएका थिए ।

तुलनात्मक लाभका दृष्टिकोणले मुलुकको अर्थतन्त्रलाई टेवा दिन पर्यटन क्षेत्रको समग्र विकास, परिवर्तित र आधुनिक परिवेश सुहाउँदो सेवा स्तरीकरण तथा पर्यटकीय पूर्वाधार विकासलाई प्रभावकारीरूपमा अघि बढाउने लक्ष्यसहित ती कार्यक्रम ल्याइएका हुन् ।

भ्रमण वर्ष अभियानलाई लक्षित गर्दै अन्तरराष्ट्रिय विमानस्थललाई बुटिक विमानस्थलका रूपमा स्थापित गर्नका लागि धमाधम काम भइरहेको छ । विमानस्थललाई २४ सै घण्टा सञ्चालन गरी आधा घण्टाभित्र ब्यागेज पाउने व्यवस्था गर्ने, बायोमेट्रिक प्रणालीबाट यात्रुको जाँच, अध्यागमनलाई चुस्त र विमानस्थलका सेवालाई प्रविधिमैत्री बनाउने कार्ययोजना पनि कार्यान्वयनको चरणमा छन् । आगामी सन् २०२० जनवरी १ अघि नै बुटिक विमानस्थल घोषणा गर्नेगरी काम अघि बढाइने मन्त्री भट्टराईको योजना छ ।