खेलकुद

क्यानको निर्वाचनमा फेरी बाधाः निर्वाचन रोक्न राखेपको निर्देशन

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानको केन्द्रिय निर्वाचन रोक्न राष्ट्रिय खेलकुद परिषद् राखेपले निर्देशन दिएको छ । असोज ३ र ४ गते काठमाडौंमा तय भएको निर्वाचन रोक्न राखेपले स्वतन्त्र कमिटिलाई निर्देशन दिएको हो ।

जिल्ला र प्रदेशको निर्वाचनसंगै स्वतन्त्र कमिटिले क्रिकेट संघको केन्द्रिय निर्वाचन असोज ३ र ४ गते काठमाडौंमा गर्ने गरि सुचना जारी गरेको थियो । तर राखेपका सदस्य सचिव रमेश कुमार सिलवालले स्वतन्त्र कमिटिले जारी गरेको सुचना फिर्ता लिएर निर्वाचन गर्नका लागि परिषद्मा निवेदन दिन निर्देशन दिएका छन् ।

सदस्य सचिव सिलवालले स्वतन्त्र कमिटिले दिने निवेदनका आधारमा परिषद्ले दिएको मितिमा स्वतन्त्र कमिटिलाई निर्वाचन गर्न निर्देशन दिएका हुन् ।

‘चुनाव गर्न परिषद्संग स्विकृती लिन पर्छ । हामीसंग सल्लाह नगरी पत्रिकामा सुचना निकाल्न पाउदैन । स्वतन्त्र कमिटिले कानुन विपरितको कार्य गर्यो ।’ सदस्य सचिव सिलवालले खेलपाटीसंग भने, ‘राखेपले निर्वाचन समिति बनाईदिन पर्छ । हाम्रो प्रतिनिधिले हस्ताक्षर नगरेको चुनाव मान्य हुदैन ।’

सदस्य सचिव सिलवालले स्वतन्त्र कमिटिले कानुन मिच्न नपाउने भन्दै निर्वाचन गराउने अधिकार स्वतन्त्र कमिटिलाई नभएको समेत जिकिर गरेका छन् ।

‘निर्वाचनको अगाडी २१ दिने सुचना निकाल्न पर्छ । मितिका लागि निवेदन दिनपर्छ ।’ उनले भने, ‘परिषद्संग अनुमती नलिएर गरेको कामको मान्य हुदैन । केन्द्रिय निर्वाचनको हकमा हामीले मान्यता नदिए हुदैन ।’सदस्य सचिवको पछिल्लो भनाईसंगै समाधान उन्मुख देखिएको क्रिकेट विवाद अन्यौलमा परेको छ ।

राखेपको पछिल्लो अडानले असोज ३ र ४ गतेका लागि तय क्यानको केन्द्रिय कार्यसमितिको चुनाव समेत प्रभावित हुने देखिएको छ । नेपाली क्रिकेटमा देखिएको विवाद समाधानका लागि अन्तराष्ट्रिय क्रिकेट परिषद् आईसीसीले सल्लाहकार समिति गठन गरेर क्रिकेट संघको नयाँ विधान बनाएको थियो । समितिको बनाएको विधानलाई राखेपले समेत हुबहु पारित गरेको थियो ।

विधान अनुसार क्यानको नयाँ नेतृत्व चयन गर्ने ‘म्यानडेट’ सहित आईसीसीले राखेप सहितको प्रतिनिधि राखेप स्वतन्त्र कमिटि गठन गरेको थियो । स्वतन्त्र कमिटिले विधान अनुसार जिल्ला निर्वाचन हुदै प्रदेश निर्वाचन सम्पन्न गरिसकेको छ । आईसीसीको सहमतीमा स्वतन्त्र कमिटिले असोज ३ र ४ गते केन्द्रिय निर्वाचनको मिति तोकेको छ ।

तर केन्द्रिय निर्वाचनको मिति तोक्न आफुसंग अनुमति लिनुपर्ने अडान राखेपले अघि सारेको छ । सदस्य सचिव सिलवालले साधारण सभाको मिति मात्र नभएर राखेपलेनै निर्वाचन मण्डल बनाउनुपर्ने बताएपछि क्रिकेट विवाद समाधानमा अर्को संकट देखा परेको हो ।

‘राखेपसंग स्विकृतीका लागि समस्या छैन । तर निर्वाचन मण्डल गराउने बिषय क्यानको बिधान विपरित छ ।’ स्वतन्त्र टोलीका अधिवक्ता राजेश्वर श्रेष्ठले खेलपाटीसंग भने, ‘स्वतन्त्र कमिटिले तयार गरेको विधान राखेपले पारित गरेको हो । राखेपकै प्रतिनिधि रहेको कमिटिले निर्वाचनको नयाँ मिति तोकेको हो ।’ राखेपको निर्देशन अनुसार २१ दिने सुचना निकाल्ने आफुहरुलाई समस्या नभएपनि दसैको समयमा केन्द्रिय निर्वाचनका लागि सबैलाई काठमाडौंमा भेला गर्न समस्या हुने श्रेष्ठले बताए ।

प्रतिबन्धको त्रास

अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीको बोर्ड बैठक आगामी असोज २६ गते बस्दैछ । तर बैठकको एजेण्डा असोज १५ गतेनै तय हुनेछ । त्यसैले असोज १५ अघिनै क्यानको केन्द्रिय निर्वाचन सकेर प्रतिवेदन आईसीसीमा बुझाउनुपर्ने बाध्यता स्वतन्त्र कमिटिलाई छ ।

आईसीसीले समेत नेपाल क्रिकेट संघको नयाँ निर्वाचन सफलतापुर्वक सम्पन्न भएमा अक्टोबर १३ तारिकमा बस्ने बोर्ड बैठकमा क्यानको निलम्बन फुकुवा गर्ने तयारी गरेको छ । तर स्वतन्त्र कमिटिले तयार गरेको टाईमलाईन अनुसार निर्वाचन सम्पन्न नभएमा क्यानलाई अनिश्चितकालका लागि प्रतिबन्ध लाग्न सक्ने बताईएको छ ।

निर्वाचन गराउने अधिकार कसको 

क्यानको नयाँ विधानले जिल्ला, प्रदेश र केन्द्रिय साधारण सभाको बैठक बोलाउने र निर्वाचन सम्पन्न गर्ने अधिकार स्वतन्त्र कमिटिलाई दिएको छ । साथै प्रादेशिक साधारण सभामार्फत प्रादेशिक कार्यसमिति गठन भएको मितिले ३० दिन भित्र केन्द्रिय साधारण सभाको बैठक बोलाएर केन्द्रिय कार्यसमितिका सदस्यको निर्वाचन सम्पन्न गर्नुपर्ने विधानमा उल्लेख छ ।