खेलकुद

नदेज्दा कप फुटबलः नेपाल उपविजेता

काठमाण्डौ । नेपाल किर्गिस्तानमा जारी नदेज्दा कप महिला फुटबल प्रतियोगिताको उपविजेता बनेको छ । आज भएको फाइनल खेलमा नेपाल उज्वेकिस्तानसँग ३–२ गोलले पराजित भएको हो ।

मध्यान्तर अघिको खेलमा उज्वेकिस्तानले १–० गालेको अग्रता लिएको थियो । उज्वेकिस्तानले खेलको ३९औँ मिनेटमा पहिलो गोल गरेको थियो । मध्यान्तरपछिको खेलमा उज्वेकिस्तानले थप दुई गोल गरेको हो । उज्वेकिस्तानले खेलको ५४औँ तथा ६४औँ मिनेटमा गोल गरेको हो । नेपालका लागि सावित्रा भण्डारीले खेलको ६७औँ तथा ९०औँ मिनेटमा गोल गरेकी थिइन् । उक्त प्रतियोगितामा सावित्रा सर्वाधिक गोलकर्ता बनिन् । उनले प्रतियोगिता भर सात गोल गरिन् । उनले पहिलो खेलमा किर्गिस्तानसँग ह्याट्रिकसहित चार गोल, दोस्रो खेलमा ताजकिस्तानविरुद्ध एक तथा आजको फाइनल खेलमा दुई गोल गरेकी थिइन् ।