समाचार

भुकम्पपीडितसंग पैसा माग्ने इञ्जिनीयर आकाश बिरुद्ध अख्तियारको भ्रष्टाचार मुद्धा

बनेपा । भूकम्पबाट क्षतिग्रस्त आवास निर्माणका लागि नेपाल सरकारले दिएको अनुदान (किस्ता) निकासीका क्रममा भूकम्पपीडितसँग घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बनेपा नगरपालिका काम कार्यरत सवइञ्जिनीयर आकाश श्रेष्ठ (करार) विरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

निजले स्थलगल निरीक्षण गरी प्रतिवेदन तयार गर्ने क्रममा भूकम्पपीडितसँग घुसबापत रु २५ हजार लिएको अवस्थामा आयोगको टोलीले रङ्गेहात पक्राउ गरेको थियो ।

यस्तै आयोगको टोलीले अदालतमा विचाराधीन मुद्दा मिलाइ दिने भन्दै सेवाग्राहीसँग घुस लिने जिल्ला अदालत सिरहाका सवारी चालक वृजमोहन यादवलाई घुससहित नियन्त्रणमा लिएको छ । निजले मुद्दा मिलाइदिन्छु भन्दै सेवाग्राहीबाट लिएको रु एक लाख १० हजार घुससहित सिरहा नगरपालिका–७ हस्पिटल चोकस्थित खड्ग होटलबाट नियन्त्रणमा लिइएका आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।